अदालत र निर्वाचन आयोगप्रति हाम्रो पूर्ण भरोसा छ : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र निर्वाचन आयोगप्रति आफूहरुको पूर्ण भरोषा रहेको बताएका छन् ।

यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पार्टीको केन्द्रीय कमिटीका बहुमत सदस्य आफूहरुतिर भएको जनाउँदै आफूहरुले नै आधिकारिक मान्यता पाउने बताए ।

‘तेस्रो केन्द्रीय कमिटी बैठकमा ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जनाको समर्थन र उपस्थिति रहेको छ’, भने, ‘संविधान, दलसम्बन्धी ऐन, नियम हेरेर अत्यधिक बहुमत भएकाले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न पाउनेमा विश्वस्त छौँ ।’

नेकपाले आजै ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र दिएको थियो ।

पार्टीको दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थिति भएको पार्टीले आधिकारिकता पाउनेमा कुनै दुई मत नभएको जनाउँदै उनले भने ,’दलसम्बन्धी ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम निर्वाचन आयोगले निर्णय गर्नेमा विश्वस्त छौँ, आयोगप्रति हाम्रो पूर्ण भरोसा छ ।’

आयोगका पदाधिकारीसँगको छलफलका क्रममा पार्टीको विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट न्याय निरुपण गरिने विश्वास दिलाएको उनले जानकारी दिए ।

प्रचण्डले संविधानमा हुँदै नभएको प्रावधान देखाएर प्रतिनिधिसभा विघटन गरिएको बताए । भने, ‘संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान विघटन गर्ने अधिकार दिएको छैन ।’ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्दा नेपालको राजनीति जटिल मोडमा पुगेको उनको भनाइ थियो ।

प्रचण्डले अहिले सबै राजनीतिक बुद्धिजीवी, नागरिक समाज जनवर्गीय संगठन देशभित्र र बाहिरका संविधान र कानुनविद्हरू प्रतिनिधिसभा विघटनको कदम संविधानको व्यवस्था विपरीत छ भन्नेमा एकमत रहेको बताए । उनले भने, ‘त्यति मत हुँदाहुँदै पनि हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले विघटनको प्रस्ताव गर्नभुयो र राष्ट्रपतिले स्वीकार गर्दा नेपालको राजनीतिलाई जटिल मोडमा ल्याएको छ ।’

प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको जनाउँदै उहाँले अदालतप्रति आफूहरुको पूर्ण भरोसा रहेको बताए । ‘अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म, भावना र जनताको चाहनाअनुसार फैसला गर्नेछ”, उनले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा आजैदेखि आन्दोलनमा गइसकेको उल्लेख गर्दै प्रचण्डले पहिलो चरणको आन्दोलनले संसद् पुनःस्थापना नगरे फेरि अर्को सङ्घर्ष गर्ने चेतावनी दिए ।

प्रचण्डले मुलुकलाई राजनीतिक स्थायित्व दिन आफूहरुले पार्टी एकता गरेको स्मरण गर्दै सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्दो सहयोग गरिएको बताए । मुलुकमा स्थिर सरकार बन्नुपर्छ भनेर आफूले आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि छाडेको उनले बताए । भने, ‘मैले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर उहाँलाई पाँचै वर्ष सरकार चलाउन सहयोग गरेँ ।’

 
 
  
 

You may also like