राज्यमन्त्री मानन्धरले लगातार चार घण्टा ५ मिनेट २० सेकेण्ड गीत गाएर बनाए विश्व रेकर्ड

by समतल अनलाइन

काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड दर्ज गरेका छन् ।

राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो इतिहास रचेका हुन् । हिजो (शुक्रबार) काठमाडौंमा आयोजित कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेण्ड गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमशः ५९ वटा गीत गाएका थिए ।

उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन् । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधिका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकामा मन्त्री मानन्धरलाई बधाई दिएकी छिन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने बताए ।

वर्ल्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्वकै पहिलो मन्त्री भएको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए । उनले शुक्रबार गाएका सबै गीतको रोयल्टी समेत तिरेर गाएका हुन् । मन्त्रीहरुले विश्व रेकर्डका लागि गरेका कामहरुको बारेमा धेरै खोजी गरेपछि गीत गाएर रेकर्ड बनाउने निधोमा पुगेको जानकारी दिए ।

 
 
  
 

You may also like