भ्रष्टाचारी हेर्न कहीं जान पर्दैन, बालुवाटार र सिंहदरबार गए पुग्छ : गगन थापा

by समतल अनलाइन

‘राष्ट्रपतिको काम ओली–प्रचण्डको झगडा मिलाउने होइन’
कैलाली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारीहरुको संरक्षण गरेको आरोप लगाएका छन् ।

कैलालीको धनगढीमा आज (सोमबार) आयोजित विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाएका हुन् । ‘भ्रष्टाचारी हेर्न कहीं जान पर्दैन, बालुवाटार गए पुग्छ,’ नेता थापाले थपे, ‘अन्त जानै पर्दैन सिंहदरबार गए पुग्छ किनकी प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा छन् ।’

उनले कोरोनाको महासंकटमा सरकारले जनतालाई कोरोनाबाट पनि जोगाउन नसकेको र किसानलाई मल पनि दिन नसकेको बताए । उनले नेकपालाई कम्युनिष्ट पार्टी नै नभई लोभी पापीहरुको समूह भएको आरोप समेत लगाएका छन् ।

उनले आफ्नै पार्टीलाई लक्षित गर्दै फेरि सत्ताका लागि सिंहदरबार ताक्ने भन्दा जनताका बीचमा जान आग्रह पनि गरे । ‘अब शीतलनिवास, बालुवाटार वा सिंहदरबार हेर्ने होइन, जनताको घर हेर्ने हो, व्याक टु पिपुल (जनताका बीचमा) जाने हो अब,’ उनले भने ।

केपी ओली नेतृत्वको सरकारलाई उनले अयोग्य, असक्षम र इतिहासकै भ्रष्ट भएको आरोप लगाए । ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई उनले भने, २०५९ सालमा राजाकै कारण आन्दोलनामा लाग्नुपरेको बताएका छन् । उनको तर्क थियो– आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन् ?

प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मा राष्ट्रपतिको नभएको भन्दै उनले भने, ‘राष्ट्रपति महोदय, आँखा नचक्काइबक्स्योस, हात नलम्काइबक्स्योस ।’ उनले सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न आग्रह गरे । ‘राजा त फाल्यौं, राष्ट्रपति फाल्न हामी सक्छौं,’ थापाले भने । तर, यो भन्दैमा राजा आउ देश बचाउ भन्न नमिल्ने थापाले बताएका छन् ।

‘हिजो पञ्चायतकालमा हाम्रो मुर्ति त बेचेर खाने पञ्चेहरुले हाम्रो धर्म र संस्कृति जोगाउँछन ?’ उनले भने, ‘कमजोरी भएका छन्, यसलाई सुधार गर्नुपर्छ तर, लामो समयपछि ल्याएको संघीय गणतान्त्रिक व्यवस्था जोगाऔं ।’

 
 
  
 

You may also like