पुष १० गतेबाट सिनेमा हल खुल्ने

by समतल अनलाइन

काठमाडौँ । पछिल्लो ९ महिनादेखि बन्द रहेको सिनेमा हल आउँदो पुष १० गतेबाट सञ्चालनमा आउने भएको छ । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको भन्दै पुष १० गतेबाट एकपक्षिय रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको हो ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘आजसम्म सरकारले चलचित्र घर सञ्चालन गर्न तर्फ कुनै चासो नदिएकाले संघले बाध्य भएर मिति २०७७ साल पौष १० गते शुक्रवारदेखि सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लूएचओको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने तथा सरकार समक्ष निम्न मागहरु राखी चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय भएको छ ।’

सिनेमा हल सञ्चालनसँगै विभिन्न माग राख्दै संघ आन्दोलन पनि गर्ने तयारीमा छ । चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, सिनेमा हल घर सञ्चालन नभएको अवधिको विद्युत महशुल डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाह हुनुपर्ने, मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायतका माग चलचित्र संघले राखेको छ ।

सिनेमा हल खोल्न प्रधानमन्त्रीदेखि सरकारका विभिन्न व्यक्तिसँग विभिन्न चरणमा छलफल गरिएको भएपनि सरकारले यसतर्फ कुनै चासो नदिएका कारण बाध्य भएर एकपक्षिय रुपमा सिनेमा हल खोल्ने निर्णय गरेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पत्रकार सम्मेलनमा बताए । उनी सरकारले पुष १० गतेभित्र सिनेमा हललाई सञ्चालनको अनुमति दिनेमा पनि विश्वस्त देखिए ।

उनले भने, ‘कोभिडको संक्रमणले सबैभन्दा बढी प्रभावित चलचित्र (चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) क्षेत्र हो । जसका कारण निर्माता, निर्देशक, वितरक तथा प्रदर्शकहरुलाई ठूलो आर्थिक क्षति भएको छ । कलाकार तथा प्राविधिकहरुलाई गुजरा चलाउन समस्या भएको छ । तर, सरकार चलचित्र क्षेत्रका समस्याप्रति गम्भीर नहुँदा बाध्य भएर सिनेमा हल खोल्न लागेका हौं ।’

चलचित्र संघका महासचिव अशोक शर्माले सिनेमा हल खोल्दा सरकारले बल प्रयोग गरे आफूहरु गिरफ्तारी दिन तयार रहेको बताए । ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने तयारी भएको जानकारी दिँदै उनले भने- ‘हामीले हलसम्म दर्शक आउने वातावरण सिर्जना गर्न सिनेमा हल खोल्न लागेको हौं । अहिले पुराना फिल्म चलाउँछौं । निर्माता सहमत भए नयाँ फिल्म पनि चलाउँछौं ।’

 
 
  
 

You may also like