प्रधानमन्त्री ओलीले मागे काँग्रेसको साथ, बालुवाटारमा देउवासँग छलफल

by समतल अनलाइन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले अगाडीको रणनीति बनाउन व्यस्त देखिएका छन् ।

सचिवालय बैठकमा आफूविरुद्ध लागेको आरोपको जवाफ दिन १० दिनको समय मागेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहकार्यको प्रस्ताव गरेका छन् ।

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको विषय अहिले चर्चाको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले एकातिर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको जवाफ तयार गरिरहेका छन् भने अर्को तर्फ आफ्नो सत्ता टिकाइरहन विकल्पहरुबारे तयारी समेत गरेको बुझिएको छ ।

शनिबार सभापति देउवासँग करिब आधा घण्टा वान टु वान भेट गरेका प्रधानमन्त्री ओलीले पार्टी फुटीहालेमा सरकारमा सहकार्य गर्न प्रस्ताव गर्दै आफुले हदै सम्मको लचकता देखाउने प्रस्ताव गरेको काँग्रेस सभापति निकट नेताले खरीबोटलाई जानकारी दिएका छन् ।

उनले स्वाभाविक रुपमा पार्टी बिभाजन हुने स्थिति आएमा आफ्नो सत्ता जोगाउन काँग्रेसलाई सहकार्य गर्न प्रस्ताव आएको हो, तर काँग्रेसले यस विषयमा कसरी जाने भन्ने तय गरिसकेको अवस्था नभएको बताए ।

प्रधानमन्त्री ओलीले यस अघि संसद विघटन गर्ने तथा राजनीतिक दल फुटाउने सम्बन्धि अध्यादेश ल्याउने विषयमा राष्ट्रपतिको साथ नपाएपछि अन्य विकल्पका बारेमा रणनीति बनाइरहेको देखिएको छ । तर पार्टीले राजीनामा दिने निर्णय गरेमा अझै पनि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने तथा संसद विघटनसम्म गर्न सक्ने रणनितिमा कायमै रहेको विश्लेषण गरिएको छ ।

पार्टीकै अध्यक्षले नै भ्रष्ट्राचारका विषयमा गम्भीर आरोप सचिवालयमा लिखित रुपमा लगाइसकेपछि अब फेरी पार्टी एक भएर अगाडी बढ्ने अवस्था कमै देखिएको छ ।

प्रधानमन्त्री ओली पक्षले आफ्ना विरोधी नेताहरुलाई बहिष्कार गर्ने र विरोध गर्ने अभियान शनिबार चितवनबाट शुरु गरेको छ । चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम बिथोल्दै नाराबाजी गरेपछि पार्टीको विवाद नयाँ मोडमा पुगेको विश्लेषण हुन लागेको छ ।

पार्टीमा दोस्रो तहका नेताहरु पनि विवाद मिलाउने विषयमा यस अघि जस्तो सक्रिय देखिएका छैनन् । अर्का अध्यक्ष प्रचण्डले शुक्रबार महासचिव विष्णु पौडेल र प्रतिनिधिसभामा दलका उपनेता सुबासचन्द्र नेम्वाङसँग छुट्टा छुट्टै भेट गरेर पार्टीमा अहिले समस्या प्रधानमन्त्री ओलीले गर्दा नै आएको संदेश दिएर थप दबाब बनाउने प्रयास गरेका छन् ।

यसरी नेकपाको अहिलेको समग्र अवस्था हेर्दा फुटको संघारमा पुगेकै विश्लेषण गर्न सकिन्छ । अब फेरी मङ्सिर १३ गतेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले पेश गर्ने प्रचण्डको प्रस्तावको जावफमा नै पार्टीको भविष्य समेत गासिएको नेकपाका नेता कार्यकर्ताले विश्लेषण गरेका छन् । प्रचण्डको आरोपपत्रको जवाफमा कस्ता आरोपहरु प्रधानमन्त्रीको तर्फबाट आउछ भन्ने विषय अब सबैको कौतुहलताको विषय बनेको छ ।

 
 
  
 

You may also like