सरकार छिट्टो फेरिए केहि पाइन्छ कि भन्नेहरुबाट अस्थिरता : पोखरेल

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले छिट्टो सरकार फेरिए कहि पाइन्छ कि भनेर आश गर्नेहरुबाट राजनीतिक अस्थिरता बढाउने खेल भइरहेको आरोप लगाएका छन् ।

दाङको तुलसीपुरस्थित राप्ति शान्ति पार्कमा स्थापना गरिएको शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले ९–९ महिनामा सरकार फेर्ने बानी परेकालाई अहिले सरकार फेर्न मन लागेको आरोप लगाए।

पछिल्ला दिनमा सत्ताधारी दल नेकपाभित्रै भएको विवादप्रति लक्षित गर्दै मुख्य मन्त्री पोखरेलले कतिपयलाई सरकार फेर्न मन लागे पनि जनता राजनीतिक स्थायित्वको पक्षमा रहेको बताएका छन् ।

उनले यो बेला सरकार फेर्नु आवश्यक नभएको र जनताको चाहना पनि सोहीबमोजिम भएको बताए । उनले राजनीतिक स्थिरता र विकास अहिलेको आवश्यकता रहेको पनि बताए । जनता राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको भन्दै उनले सोहीअनुसार तीन वटै तहका सरकारले काम गरिरहेको स्मरण गराए ।

‘जति गर्नुपर्ने थियो त्यो अझै भइरहेको छैन तर तीन वर्षअघिको अवस्थाभन्दा अहिले देशको विकास धेरै माथि उठिसकेको छ’, उनले भने । उनले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर र संवेदनशिल रहेको भन्दै त्यही कामका कारण देशमा महामारीबाट धेरै नागरिको ज्यान जोगिएको दाबी गरेका छन् ।

पोखरेले यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा सचिवालयमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रचण्डको राजनीतिक प्रस्तावका कारण पार्टी गम्भिर मोडमा पुगेको बताएका थिए ।

 
 
  
 

You may also like