बसभित्र मौन बसौं

by समतल अनलाइन

काठमाडौं। सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनु होला । बसभित्र फेससिल्ड र मास्क लगाऔं । मौन बसौं। झ्याल खुलै राखौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बसभित्र भौतिक दूरी पालनाको सम्भावना न्यून हुने बताउँछन् । ‘बसभित्र सिटको दूरी निकै कम हुन्छ । त्यसैले मास्क लगाउनु पर्छ । मौन रहनु पर्छ’, डा. पुन भन्छन्, ‘झ्याल खुला राख्दा संक्रमणको जोखिम न्यून हुन्छ ।’ नाक र मुखबाट निस्किने छिटा हावामै पनि तैरिन सक्ने भएकाले बसको झ्यालढोका खुलै राख्दा संक्रमणको जोखिम कम हुने डा. पुन बताउँछन् ।

बसभित्र कोचाकोच अवस्थामा बोल्दा थुकका छिटा फैलिन्छन् । झ्याल बन्द राख्दा ती कण बसभित्रै तैरिएर धेरैलाई संक्रमणको जोखिम हुन सक्छ । कोही संक्रमित छ भने उसले दिएको नोटबाटै संक्रमण हुने जोखिम हुन्छ ।

संक्रमितसँग १५ मिनेट नजिक रहनु पनि कोरोना भाइरस संक्रमणका लागि पर्याप्त हुने विज्ञ बताउँछन् । संक्रमितले बसभित्र बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने ससाना छिटाले संक्रमण हुन सक्छ । लामो एवं मध्यम दूरीको यात्रामा एयर कन्डिसनर (एसी) नचलाउन विज्ञको सुझाव छ ।

यातायात व्यवस्था विभागले संक्रमणको सम्भावना हुने आकलन गर्दै फेससिल्ड अनिवार्य लगाउनुपर्ने नियम बनाएको छ । फेससिल्ड र मास्क लगाउँदा जोखिम कम हुने विज्ञको भनाइ छ ।

‘बसहरू स्यानिटाइज गरेका पनि हुँदैनन् । कोचाकोच यात्रा गराउँछन् । अब यात्रु आफै सचेत हुनु जरुरी छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली भन्छन्, ‘मास्क र फेससिल्ड लगाउनुपर्छ। साबुनपानीको व्यवस्था नहुने अवस्थामा स्यानिटाइजरको उपयोग गर्नुपर्छ ।’

यात्रा गरेपछि पनि घरभित्र सोझै नपसी लगाएको कपडा बाहिरै राख्न र साबुनपानीले नुहाउन डा. पुन सुझाउँछन् । ‘नजिकै संक्रमित व्यक्ति बसेको छ भने उसको नाक र मुखबाट निस्केका छिटाहरू लुगा वा सिटमा पनि अड्केको हुन सक्छ’, उनी भन्छन्, ‘सरकारको सन्देश पालना गर्दै भरसक अहिले बसैकै ठाउँमा दसैं मनाउँदा राम्रो हुन्छ । यात्रा गर्नुपर्ने अवस्थामा होसियारी अपनाउनै पर्छ ।’

दसैं लागेसँगै जोखिमपूर्ण ढंगले लामो यात्रा गर्नेको लर्को छ । त्यही लर्कोमा संक्रमित पनि हुन सक्छन् । कोरोना संक्रमण भयावह बन्दै गरेको संघीय राजधानीबाटै दसैं मनाउन विभिन्न जिल्ला गइरहेका छन् ।

मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले पुरानै भाडा दरमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेपछि संक्रमणको जोखिम झनै बढेको हो । खर्च नउठ्ने जनाउँदै व्यवसायीले सिट भरेरै यात्रु बोक्न थालेका छन् । त्यसअघि भदौ २९ गतेको मन्त्रिपरिषद्ले आधा सिट क्षमताका सवारी चलाउनुपर्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

प्रवक्ता डा. गौतमले लामो यात्रा गरेको व्यक्तिलाई गाउँघरमा देखे सात दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए । ‘कोरोना सार्ने सम्भावना भएकोले केहि दिन क्वारेन्टाइनमा राख्न भनिएको हो’, उनले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like