अन्तिम चरणमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

by समतल अनलाइन

मोडालिटीको टुंगो नलागेपछि दुवै विमानस्थलको सञ्चालन सरकार आफैले गर्ने
पोखरा। उपत्यका बाहिर निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माणको अन्तिम चरणको काम भइरहे पनि सञ्चालनको मोडालिटी भने टुंगिन बाँकी छ । सञ्चालनको मोडालिटी नटुंगिएपछि दुवै विमानस्थलको सुरुवाती सञ्चालन नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ ।

प्राधिकरणका अनुसार भैरहवाको काम ९३ प्रतिशत सम्पन्न भएको छ भने पोखराको काम ६५ प्रतिशत सकिएको छ । भैरहवा आगामी फागुनसम्म निर्माण सम्पन्न हुँदै छ भने पोखरा चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा विमानस्थल सम्पन्न हुने म्याद पटक–पटक थपिएको छ ।

भैहरवा विमानस्थलको सञ्चालन जर्मनको म्युनिखले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा अगाडि बढाउने प्रस्ताव गरेको थियो । तर, सरकारले मोडालिटी टुंगो नलगाएपछि प्राधिकरणले आफँै सञ्चालन गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । यता पोखरा पनि पिपिपी मोडलमै सञ्चालनको तयारी भए पनि मोडालिटिको टुंगो नलागेपछि प्राधिकरण आफँै सञ्चालनको तयारीमा जुटेको हो ।

‘दुवै विमानस्थलको सञ्चालन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ,’ प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारी बताउँछन् । ऐनमा सार्वजनिक–निजी साझेदारीमा विमानस्थल सञ्चालन गर्न सक्ने भन्ने व्यवस्था नभएकाले त्यसमा संशोधन नगरेसम्म पिपिपी मोडलमा विमानस्थल दिन नसकिने उनले बताए । त्यही भएकाले नै जर्मनको म्युनिख पनि आउन नसकेको अधिकारीले बताए ।

‘कानुनमै विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापनको अधिकार प्राधिकरणको रहेको उल्लेख गरेकाले सोहीअनुसारको काममा लागेका छौँ,’ निर्देशक अधिकारीले भने । निर्माण सम्पन्न हुने बित्तिकै प्राधिकरणकै टिमले सञ्चालन सुरु गर्ने समेत अधिकारीले बताए ।

पाँच पटक म्याद थप्दा पनि भैरहवा सकिने मिति टुंगिएन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको मिति अझै टुंगो लाग्न सकेको छैन । कोरोनाका कारण विदेशबाट आउनुपर्ने दक्ष जनशक्ति समयमै आउन नसक्दा विमानस्थल निर्माण यति नै समयमा सकिन्छ भनेर भन्न सकिने अवस्था नरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका योजना प्रमुख प्रवेश अधिकारीले बताए ।

विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ । सरकारले निर्माण कम्पनीका लागि पाँचौं पटकसम्म म्याद थप गरेर २०२० डिसेम्बरमा सक्न म्याद थप गरेको थियो । कामको अवस्था हेरेर तीन महिनादेखि ६ महिनासम्म पटक–पटक गरी पाँच पटकसम्म म्याद थप गरेको, तर कोरोनाका कारण विदेशबाट आउनुपर्ने दक्ष जनशक्ति आउनमा ढिलाइ भइरहेको योजना प्रमुख अधिकारीले जानकारी दिए ।

विमानस्थल निर्माण सम्पन्नको समय कोरोनाको प्रभावमा भर पर्ने अवस्था आएको उनले बताए । लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको विमानस्थलको निर्माण सम्पन्न हुने समय अझै टुंगो लाग्न सकेको छैन । २०७१ माघमा शिलान्यास भएको विमानस्थल समयमा काम भएको भए २०७४ पुस मसान्तमा सकिनुपथ्र्यो ।

०७२ सालको भूकम्प र मधेस आन्दोलनको अवरोधका कारण सन् २०१८ को जुनसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिए पनि केही काम बाँकी रहेपछि तेस्रोपटक समय थप भएको थियो ।

तेस्रोपटक थप गर्दा निर्माण अवधि डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने भनिएको थियो । २०१९ डिसेम्बरमा पनि सक्ने अवस्था नभएपछि परियोजनाले चौथोपटक म्याद थप गरेको थियो । चौथो पटक म्याद थप गरेर काम अगाडि बढिरहेको अवस्थामा अहिले कोरोनाका कारण थप प्रभावित भएको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल दुई चरणमा बनिरहेको छ । आइसिपी १ र आइसिपी २ गरी विमानस्थलको निर्माण कार्य जारी छ । आइसिपी १ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् भने आइसिपी २ अन्तर्गतका कामहरू केही बाँकी रहेका छन् । आइसिपी १ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।

आइसिपी २ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ । यस कामका लागि आवश्यक उपकरण जडानको काम कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाइ हुँदै गएको छ । चीनबाट आउनुपर्ने केही सामान केही दिनमै विमानस्थल परिसरमा आइपुग्ने अधिकारीले बताए । ती उपकरण जडान गर्ने दक्ष जनशक्ति भने आउने टुंगो लाग्न सकेको छैन ।

विमानस्थल परियोजनाका योजना प्रमुख अधिकारीका अनुसार हाल अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रंगरोगनको काम भइरहेको छ भने प्रस्थानकक्षको भवन सकिएर एसी जडानलगायतका काम भइरहेका न्। एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, फल्स सिलिङ राख्ने, एसी जडान, वायरिङ, टायलिडलगायतका कामहरू सकिने क्रममा छन् । धावनमार्ग, ट्याक्सी वे, एप्रोनको काम सकिएको छ ।

विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गर्ने प्रक्रिया सुरु
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण हुने भएको छ । दोस्रो टर्मिनल भवन हाल बनेको भवनको पश्चिमछेउ बन्ने जनाइएको छ । भवन बनाउने स्थानको माटो परीक्षणको कामसमेत भएको जनाइएको छ ।

विमानस्थलको दोस्रो भवन बनाउने विषयमा सम्पूर्ण कामहरू मन्त्रालयबाट भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । बजेट लगानीका कुरा सबै विषयमा मन्त्रालयबाट काम भइरहेको छ अधिकारीले भने । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलमा उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै रहेका छन् ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ६५५ सम्पन्न

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेस मुनकर्मीका अनुसार बाँकी ३५ प्रतिशत काममध्ये २० प्रतिशत प्राविधिक काम बाँकी छ । बाँकी १५ प्रतिशत काम सिभिल काम छ । अब सिभिल काम रंगरोगन र फिनिसिङ मात्र रहेको उनले बताए ।

विमानस्थल निर्माणको काम तोकिएभन्दा ६ महिना अगाडि नै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । त्यसअनुरूप काम पनि भएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण निर्माणमा केही बाधा परेकाले ६ महिनाअगाडि नसकिने उनले बताए ।

यद्यपि, तोकिएको समयमा भने निर्माणको काम सक्ने गरी नै अहिले काम भइरहेको उनको भनाइ छ । ‘तोकिएभन्दा ६ महिनाअगाडि सक्ने हाम्रो लक्ष्य थियो । तर, त्यो हुन पाएन । तोकिएकै समयमा सक्ने गरी अहिले काम अगाडि बढेको छ । अब पनि कोरोनाले डिस्टर्ब गरेन भने तोकिएकै समयमा निर्माण सम्पन्न हुन्छ,’ उनले भने ।

करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो ।

हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ ।

विमानस्थलबाट सहज उडान–अवतरणका लागि सुरुमा २५ मिटर काटिने भनिएको रिट्ठेपानी डाँडा ४० मिटर काट्नुपर्ने भएको छ । आइकाओको स्ट्यान्डर्डअनुसार ४० मिटर काट्नुपर्ने अध्ययन टोलीले बताएपछि त्यसैअनुसार तयारी अगाडि बढाइएको प्रमुख मुनकर्मीले जानकारी दिए ।

‘डाँडा जति काट्न सक्यो, त्यति राम्रो हो । सुरुमा २५ मिटर कटान गरे पुग्ने अध्ययन थियो । अहिले आइकाओ स्ट्यान्डर्डको बनाउन ४० मिटर कटान गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ । त्यसैअनुरूप प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

त्यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने काम अगाडि बढेको उनले बताए । दसैँलगत्तै इआइएको काम सक्ने र तिहारलगत्तै डाँडा काट्ने काम सुरु गर्ने योजनामा रहेको उनले जानकारी दिए । निर्माण थालेको ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरेर डाँडा कटानको काम सक्ने उनको भनाइ छ ।

विमानस्थल निर्माण सम्पन्न भइसक्दा पोखरा महानगरले ल्यान्डफिल साइट हटाइसक्नुपर्छ । ल्यान्डफिल साइट हटाउन विमानस्थल निर्माण आयोजनाले तीनपटकसम्म महानगरलाई पत्र लेखेर स्मरण गराइसकेको आयेजना प्रमुख मुनकर्मीले जानकारी दिए । अब चौथो पत्र छिट्टै पठाउने उनले बताए ।

यता पोखरा महानगरका मेयर मानबहादुर जिसीले विमानस्थल निर्माण सम्पन्न भइसक्दा ल्यान्डफिल साइट सारी सकिने बताए । त्यसका लागि दुई–तीनवटा ठाउँ हेरिसकेको र बायो ग्यास उत्पादनलगायतका मोडेलमा छलफल भइरहेको उनले जानकारी दिए । यस विषयमा मंसिरसम्ममा नयाँ ठाउँको टुंगो लाग्ने र त्यसपछि फटाफट काम भएर विकल्प तयार हुने उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like