बाबुरामलाई ओलीको जवाफ- एउटा हुन्छ हुँदैन टुंगो नभएको आयोजनामा अर्बौं बाँडेर खाए भन्ने ?

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनालाई हुन्छ हुँदैन टुंगो नभएको योजनाको रुपमा चित्रित गरेका छन् । ६५औं प्रहरी दिवसको उपलक्ष्यमा शुक्रबार प्रहरी मुख्यालयमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम नलिईकन प्रम ओलीले उनको आरोपको खण्डन गरेका छन् । डा. भट्टराईले पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा मात्रै ९ अर्बको भ्रष्टाचार गरेको भन्दै लगाएको आरोपको खण्डन गर्नेक्रममा ओलीले भने, ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं ।’

ओलीले सम्बोधनको क्रममा भने, ‘नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएको छ । हुन त केही गैरजिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले
बोलेर हिँडेको पनि मैले सुनेँ ।’

उनले अगाडि थपे, ‘एउटा निर्णय नभएको कसैले नलिएको कार्यारम्भ नभएको र त्यो हुन्छ हुँदैन कसले गर्छ कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री वर्तमान प्रधानमन्त्री समेतले यति अरब बाँढेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति पनि दिएछन् । यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्ति एउटा कुरा हो तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यति अनुत्तरदायी हुन सक्दैनौं ।’

उनले भट्टराईलाई जनता भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा गरिरहेको आरोप लगाएका छन् । ‘देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टाहरु त्यस्ता हर्कतहरु हामी गर्न सक्दैनौं । हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ अगाडि बढ्छौं,’ उनले भने ।

‘हामी जिम्मेवार भएर मात्रै अगाढी बढ्छौं’ प्रधानमन्त्री ओलीले भने–‘भ्रष्टाचार बिरुद्धको सुन्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भुमिका हुन्छ ।’

नेत्रविक्रम चन्द विप्लवको नाम नलिगी प्रधानमन्त्री ओलीले भने, ‘अझै पनि व्यवस्था नै उल्टाउनेगरी अगाडि बढाइएको तथाकथिक क्रान्तिले देशलाई अगाडि बढाउन किञ्चित मद्दत गर्दैन ।’

उनले अगाडि थपे, ‘एकातिर अन्तरदेशीय अतिवाद नियालिरहेका छौं भने अर्कोतिर देशभित्रको अतिवादलाई देखिरहेका छौं । त्यसका विरुद्ध हामी लागिरहेका छौं । नेपाल सरकार जुनसुकै प्रकारका अतिवाद र अतिवादी गतिविधिविरुद्ध रहेको उनले स्पष्ट पारे ।

 
 
  
 

You may also like