लम्बिँदै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौंं, १४ साउन । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको रिक्त संरचना पूर्ति ‘कसरी गर्ने ?’ भन्ने विषयले बैठक सकसमा परेको छ ।

बैठकमा पहिले १४औं महाधिवेशन मिति तोक्ने वा रिक्त संरचना पूर्ति गरेर महाधिवेशन आधार बनाउने वा सहमतिबाटै सबै संरचना बनाएर महाधिवेशनमा जाने भन्ने विषयमा संस्थापन र इतरसमूह नेताबीच अझै कुरा मिल्न सकेको छैन ।

गत २२ असारबाट सुरु बैठकमा पहिलो र दोस्रो दिनबाहेक हरेकमा यिनै दुई विषयमाथि छलफल जारी छ । पहिलो दिनको बैठकमा पार्टी नियमावली मस्यौदा पेश र दोस्रो बैठकबाट नियमावली केही विषयमा सहमतिबाट परिमार्जन शर्तमा सर्वसम्मत पारित गरिएको थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठक महाधिवेशन र पार्टी संरचना गठनका दुई विषयमा अल्झिएको बताए । ‘बैठकमा मूलभूत रूपमा यीनै दुई विषय उठान भएका छन्, विधि र विधानभित्रैबाट संरचना बनाइनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले राजधानीस“ग भने, ‘सहमतिका विषय पनि आएका छन्, छलफल हुँदैछ ।’

सहमति गर्दासमेत लोकतन्त्र दायराभित्रै रहेर विधि र प्रक्रियाबाट गर्न सकिने केसी बताए । ‘लोकतन्त्रमा विधि र प्रक्रिया ठूलो कुरा हो, विधिविहीन सहमति हुन सक्दैन,’ उनले भने, ‘विधिबाट महाधिवेशनको क्यालेण्डर सुनिश्चित गरेर पनि सहमति खोज्न सकिन्छ ।’

कांग्रेसको गत ८ पुसमा सम्पन्न महासमिति बैठकबाट पारित भएर १२ फागुनको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको विधानअनुसार पार्टीका आठ तहको संरचना हुने उल्लेख छ ।

जसअनुसार टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहका संरचना व्यवस्था छ । तर, हालसम्म केन्द्र र जिल्लाबाहेक तल्लो तहमा पार्टी संरचना रित्तोजस्तै छन् । राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

कांग्रेसले आगामी फागुनसम्म सात प्रदेश, नयाँ गठन भएका दुई जिल्ला रुकुम र पूर्वी नवलपरासी, १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन कार्यसमिति, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको अन्तरिम संरचना गठन गर्ने लक्ष्य राखेको छ ।

 
 
  
 

You may also like