साउन १५ गते बन्दको घोषणा

काठमाडौं, १३ साउन । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विकले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा साउन ११ गते प्रचार प्रसार, १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकारबाही कारबाही, १४ गते मसाल जुलुस गर्ने उल्लेख छ ।

यस्तै १५ गते बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ । विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको आरोप लगाइएको छ । विकले आफ्नो पार्टी त्यसको निन्दा र भत्र्सना गर्ने भन्दै लामाको रिहाइको माग गरेका छन् ।

सो पार्टीका सांस्कृतिका फाँटका इन्चार्जसमेत रहेका लामालाई प्रहरीले ४ साउनमा काटठमाण्डुको काँडाघारीबाट पक्राउ गरेको थियो । लामाविरुद्ध बम विस्फोट, जबर्जस्ती चन्दा असुलीलगायत अभियोग लगाइएको छ । उनलाई अदालतको आदेशमा नख्खु कारागारमा राखिएको छ ।

 
 
  
 

You may also like