रुपन्देही ब्यापार संघद्वारा रक्तदान , ७० युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल ।रुपन्देही व्यापार संघले नेपाल चेम्बर अफ कमर्श ७० वर्षमा प्रवेश गरेको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कमर्सको स्थापना भएको असोज २७ गतेको दिन पारेर संघले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवसायी पेशाको हकहितका लागि गठन भएको संस्थाले सामाजिक काममा देखाएको अग्रसरताको प्रशंसा गर्दै बर्तमान अबस्थामा स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना गतिबिधि अगाडी बढाउन आग्रह गर्न भयो ।

सुवेदीले कोरोनाका कारण हाम्रो सम्पूर्ण सामाजिक, आर्थिक, सांस्कृतिक एंव दैनिक जनजीवन नै प्रभावित भएको अवस्थामा जीवन सुरक्षा नै पहिलो प्राथमिकता भएको हुदा त्यसमा हेलचेक्रायाई गर्न नहुने बताउनु भयो । उहाले कोरोना सचेतनाका लागि सबै नागरिक स्वमसेवी कार्यकर्ता बन्नु पर्ने अवस्था आएको उल्लेख गर्दै चुनौतिहरुको सामना गर्नै क्षमताको विकास गर्नु नै आजको आवश्यक्ता भएको धारणा राख्नुभयो ।

नगरप्रमुख सुवेदीले बुटवलको विकासमा उद्योगी व्यवसायीहरुको भूमिका निकै उच्च रहेको स्मरण गर्दै पछिल्लो दिनमा देखा परेको अन्यौललाई चिरेर बुटवलको विकासमा नया ढंगले सोंच्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले यस क्षेत्रको सामाजिक काममा व्यापार संघले देखाएको उपश्थितिलाई कुनै पनि अवस्थामा कम हुन दिन नहुने बताउदै रक्तदान कार्यक्रमको आयोजनाले सबैलाई सक्रिय बनाएको धारणा राख्नुभयो ।

संघका अध्यक्ष यमलाल लोहनीले आम व्यवसायीहरुको साझा संस्थाको रुपमा आफुलाई स्थापित गरेको रुपन्देही व्यापार संघले समाजप्रतिको उत्तरदायित्वलाई पनि सधै बोध गर्ने गरेको बताउनु भयो ।

कार्यक्रम संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको स्थागत, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीले गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी रक्त सञ्चार इकाई भैरहवा शाखाका कार्यक्रम संयोजक हरिप्रसाद सापकोटाको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा ७० युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न पर्न महासचिव दयानिधि भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।नेपाल चेम्बर अफ कमर्स वि. स.२००७ सालमा आश्विन २७ गते स्थापना भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो ।

नेपाल चेम्बर प्रजातन्त्र भन्दा पनि जेठो संस्थाका रुपमा मानिन्छ । नेपाल चेम्बरको अगुवाईमा बि.स २०१२ अर्थात सन् १९५५ मा नेपालमा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन भएको इतिहास रहेको छ । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पाईन्छ ।

नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गर्दै आएको पनि आएको छ ।

चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।

 
 
  
 

You may also like