कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा, यसरी जितें भन्छिन् कोरोनालाई

by समतल अनलाइन

काठमाडौं। कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ । केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन् । संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन् । मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुसी छाएको छ ।

बाल्यकालमा बिफरसँग लडेकी गणेशमायाले एक सय एक वर्षको उमेरमा कोरोनासँग पनि जुध्नुपर्‍यो तर उनी संक्रमणमुक्त भएकी छन् । नातिमा संक्रमण देखापरेपछि परिवारका सबैले असोज २ गते परीक्षण गराउँदा गणेशमायासहित उनका छोरा इन्द्रबहादुर र छोरी पूणर्मायामा संक्रमण भेटिएको थियो ।

१४ दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज १६ मा परीक्षण गराउँदा गणेशमाया, इन्द्रबहादुर र नाति सहज संक्रमणमुक्त देखिएका छन् भने पूणर्माया निको हुने क्रममा छिन् । ‘आमा निको भएपछि दिदीको पनि मनोबल बढेको छ,’ वडा नम्बर ६ को अध्यक्ष समेत रहेका इन्द्रवहादुर प्रजापतिले भने, ‘वडामा पनि सबै खुसी भएका छन् ।’

होम आइसोलेसनका क्रममा गणेशमायाले माछामासु, गेडागुडी र मुगीको रस प्रशस्त मात्रामा खाएको बताइन् । ‘कोरोना लागेको खबर सुनेपछि पहिलो दिन केही डर लाग्यो,’ उनले सुनाइन्, ‘त्यसपछि डर हट्दै गयो ।’

लामो जीवनकालमा थुप्रै संघर्ष गरेकी उनले नआत्तिए सबै रोग जित्न सकिने बताइन् । १९९० र २०७२ सालको भूकम्पको कहर समेत भोगेकी गणेशमायाले दुख आएपनि हरेस नखाएको सुनाइन् ।

१४ दिनको बीचमा एक दिन छाती केही दुखे पनि अन्य दिन खासै समस्या नआएको उनको अनुभव छ । ‘कसैले नि डराउनु पर्दैन,’ उनले भनिन्, ‘खानेकुरा मिलाएर खायो र सुरक्षितसँग बस्यो भने घरमै पनि निको हुन्छ ।’ नागरिक दैनिकबाट

 
 
  
 

You may also like