कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
नाग्म वजारमा संगै जोडिएका पाँच वटा घर पहिरोले पुर्दा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नम्बर ७ का वर्ष ४० का परेक शाहीसहित उनका दुई छोरा र एक छोरीको मृत्यु भएको हो । श्रीमती पुन्ने शाहीलाई भने घाईते अवस्थामा उद्धार गरिएको छ ।
किराना पसल गर्दै आएका शाहीसहित उनका वर्ष पाँचका छोरा निराजन, सात वर्षकी छोरी हिमा र दुर्ई महिनाका छोरा अकलको शव पहिरो पन्छाएर स्काभेटरको सहयोगमा निकालिएको कालीकोटका प्रहरी प्रमुख, डीएसपी श्यामवावु ओलियाले जानकारी दिए ।
यस्तै सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु, ६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापाको पनि मृत्यु भएको उनले बताए ।
घटनास्थल जुम्ला जिल्लाको सीमानामा पर्दछ । शनिबार राति परेको पानीले आईतवार बिहान ८ वजे पहिरो झरेर वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भेरीकारका घर भत्कीएका थिए ।