कोरोना संक्रमितले अब १४ दिन मात्रै अस्पताल बस्न पाउने

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्र अस्पतालको आइसोलेनमा बस्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापन गर्न सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरेको हो ।

कोरोनाको लक्षण तथा चिह्नहरू नभएका (एसिम्टोमेटिक ) र सामान्य लक्षण एवं चिह्नहरू भएका (माइल्ड) केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ । १० दिनमा पोजिटिभ आए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका सम्पूर्ण कोभिड–१९ अस्पताललाई परिपत्र गरिएको छ । ‘१० दिनमा परीक्षण गर्दा पोजिटिभ आयो भने अरू ४ दिन राख्ने हो’, प्रवक्ता डा. गौतमले भने ।

कोरोना संक्रमण एक दिनमै सयौंको संख्यामा वृद्धि हुन थालेपछि अस्पतालका बेड भरिभराउ छन् । १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित थपिएका छन् । पीसीआर परीक्षण गरेकामध्ये संक्रमणदर ५.४ प्रतिशत छ । हालसम्म ३४ हजार ४ सय १८ जनामा कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये १९ हजार ५ सय ४ जना निको भएका छन् । निको हुने दर ५६.७ प्रतिशत छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले दिनहुँ संक्रमितको संख्या वृद्धि भइरहेकाले मन्त्रालयको परिपत्र स्वाभाविक भएको बताए । ‘१४ दिन राखिसकेपछि कोरोना भाइरस निष्क्रिय हुन्छ । अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन’, डा. राजभण्डारीले भने । १० दिनमा पोजिटिभ आए पनि नसर्ने भएकोले १४ दिनमा डिस्चार्ज गर्दा केही फरक नपर्ने उनको भनाइ छ ।

अस्पतालको आइसोलेसनमा बसिरहेका संक्रमितले पीसीआर परीक्षण गर्न दबाब दिन थालेपछि मन्त्रालयले दोस्रो पटक परिपत्र गरेको छ । सिकिस्त बिरामीले अस्पतालमा बेड पाउन नसक्ने अवस्था उत्पन्न भएको चिकित्सकले जनाएका छन् । कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशमा आइसीयू र भेन्टिलेटरमा बस्नेहरू बढेका छन् । आइसोलेसनमा बसेका कतिपय बिरामीले अझैं बढी बस्ने इच्छा देखाउन दबाब दिने गरेको एक चिकित्सकले बताए ।

१४ दिनभन्दा बढी राखे सरकारले शोधभर्ना नगर्ने परिपत्रमा उल्लेख छ । कोरोना संक्रमितको उपचार गराएबापत सरकारले अस्पताललाई अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । शंकास्पद र संक्रमित उपचार निःशुल्क हुँदै आएको छ ।

अस्पतालमा शैंया अभाव भए पनि कतिपय होम आइसोलेसनमा बसिरहेका छन् । मन्त्रालयका अनुसार सातै प्रदेशमा गरी ६ हजार २८ जना होम आइसोलेसनमा बसिरहेका छन् । कोरोना संक्रमणबाट १ सय ७५ जनाको निधन भएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like