राजधानीमा समुदायमै संक्रमण, तर कन्ट्याक्ट ट्रेसिङ हुन सकेन

by समतल अनलाइन

काठमाडौं। समुदायस्तरमा संक्रमण देखिएको काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । तर, सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको छैन ।

राजधानीमा बुधबार थपिएका तीन सय एक संक्रमितमध्ये काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ रहेका छन् । योसँगै काठमाडौंमा तीन हजार एक सय ८५, ललितपुरमा पाँच सय १० र भक्तपुरमा तीन सय २४ जना संक्रमित पुगेका छन् । अहिले सक्रिय संक्रमित रहेका देशका ७५ जिल्लामध्ये काठमाडौं सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । उपत्यकामा महिनौंदेखि घर बाहिर ननिस्केका सर्वसाधारणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा समुदायस्तरमै संक्रमण देखिएको बताए । ‘उपत्यकामा अहिले संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी समुदायकै हुन्, जसको कुनै ट्राभल हिस्ट्री पनि छैन, कोही त महिनौँदेखि घरमै रहेकाहरू पनि छन्,’ डा. पाण्डे भन्छन् । तर, यसलाई विश्व स्वास्थ्य संगठनले परिभाषित गरेको जस्तो ‘लोकल ट्रान्समिसन’ भन्न नमिल्ने उनको भनाइ छ । ‘भारतमा समेत लोकल ट्रान्समिसन भएको भनिएको छैन, हाम्रोमा पनि त्यसरी भन्नचाहिँ मिल्दैन,’ डा. पाण्डेले भने ।

समुदायमै संक्रमण देखिए पनि सरकारले सबैको कन्ट्याक्ट ट्रेसिङ भने गर्न सकेको छैन । एकै दिन धेरैजनामा संक्रमण देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङमा समेत कठिनाइ भएको डा. पाण्डेले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उपत्यकाका स्वास्थ्य कार्यालयहरूले कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेपछि स्थानीय सरकारलाई जिम्मा दिइएको छ । ‘हामीले पनि सहजीकरण गरेका छौँ, तर आजकै कुरा गर्ने हो भने एकै दिन तीन सय एक जना थपिएका छन् । कसको सम्पर्कमा कति छन् ? कसरी छुट्याउने ?’ महाशाखा प्रमुख डा. पाण्डेले भने ।

जनशक्ति अभावका कारण कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको महाशाखा तथा जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरू बताउँछन् । ‘हामीसँग पर्याप्त जनशक्ति छैन,’ भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भने, ‘हामीले सम्पर्क नम्बरसहितको विवरण स्थानीय तहलाई पठाएका छौँ, त्यसपछिको व्यवस्थापनमा उहाँहरूको सक्रियता छ ।’ समुदायस्तरमा संक्रमण देखिन थाले पनि नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गर्नेबाहेक अरू ठोस पहल भने गरेको छैन ।

संक्रमितबारे स्थानीय सरकार बेखबर

संघीय सरकारले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको जिम्मा सुम्पे पनि स्थानीय सरकार भने उनीहरूको पहिचान गर्नमै रुमल्लिएका छन् । उनीहरूलाई संक्रमितको वास पत्ता लगाउनै मुस्किल भइरहेको छ । ल्याबले संक्रमण पुष्टि गरेको दुई दिनपछि मात्रै स्थानीय सरकारले संक्रमितको विवरण पाउने गरेका छन् ।

उपत्यकामा सबैभन्दा बढी संक्रमित भएको काठमाडौं महानगरपालिकामा सोमबारसम्म एक हजार आठ सय ४० जना संक्रमित थिए । तर, मंगलबार र बुधबार कति संक्रमित थपिए भन्ने विवरण महानगरसँग पुगेको छैन । संक्रमित भएकामध्ये पनि को कुन वडामा बस्छन् भन्ने पूर्ण विवरण छैन ।

ल्याबबाट संक्रमण पुष्टि भएपछि रोग नियन्त्रण महाशाखा हुँदै जिल्ला स्वास्थ्य कार्यालयबाट स्थानीय तहसम्म विवरण पुग्नै दुई दिन लाग्ने गरेको काठमाडौं महानगरका कोभिड नियन्त्रण फोकल पर्सन ज्ञानबहादुर ओलीले बताए ।

सोमबारसम्मको अपडेट महानगरसँग आइपुगेको छ, मंगलबार कति संक्रमित थपिए ? अवस्था कस्तो छ ? हामीलाई जानकारी छैन,’ ओलीले भने ।

संक्रमण पुष्टि भएको दुई दिनपछि मात्रै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गर्छन् । काठमाडौं महानगरले संक्रमितको विवरण प्राप्त भएपछि टेलिफोनमार्फत संक्रमितको बसाइ र अवस्थाबारे एकपटक सोध्ने गरेको छ । फोन सम्पर्क नहुने संक्रमितबारे महानगर बेखबर छ ।

‘महानगरभित्र कति संक्रमित होम आइसोलेसनमा छन् भनेरसमेत यकिन गर्न सकिएको छैन,’ फोकल पर्सन ओलीले भने । उनका अनुसार सोमबारसम्म करिब तीन सय ९० जना संक्रमित होम आइसोलेसनमा छन् ।

महानगरसँग कति संक्रमित निको भए भन्ने पनि जानकारी छैन । ‘न बिरामीले निको भएँ भनेर थाहा दिन्छन्, न त अस्पतालले डिस्चार्ज भएको खबर गर्छन् । ल्याबले पनि रिपोर्ट नेगेटिभ आएको विवरण पठाउँदैन,’ ओलीले भने ।

टोखा नगरपालिकासँग पनि त्यस्तै समस्या छ । मंगलबार कति संक्रमित थपिए भन्ने विवरण बुधबारसम्म पनि टोखामा पुगेको छैन । स्वास्थ्य शाखाका प्रमुख रण खुलालका अनुसार अहिले एक सय ३८ जना संक्रमित छन् ।

‘संक्रमितको जानकारी पहिले जिल्ला स्वास्थ्य कार्यालयमा आउँछ, त्यहाँबाट छुट्टिएर यहाँ आउने एक दिनपछि मात्रै हो, कहिले त दुई दिन पनि लाग्छ,’ खुलाल भन्छन् । टोखामा ३५ जना होम आइसोलेसनमा बसेका छन् भने ६ जनालाई नगरपालिका आफैले निर्माण गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनमा राखेको छ । तर, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भने टोखाले पनि गर्न सकेको छैन ।

उपत्यकाका अन्य स्थानीय सरकारले पनि सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेका छैनन् । संक्रमितको संख्या चार हजार नाघे पनि कन्ट्याक्ट ट्रेसिङको संख्या भने दश हजार मात्रै पुगेको छ ।

उपत्यकामा १७ भदौसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक सातासम्म लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले १७ भदौसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । ‘हामीले सर्वपक्षीय छलफल गर्दा सबै पक्षबाट थप्नुपर्ने सुझाब आयोे,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘एक साताको अवधिमा संक्रमण दर घटेको र दुई सातापछि धेरै कम हुन्छ भन्ने आशासहित एक सातालाई निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।’

यसपटक निर्णय गर्नुअघि सबै स्थानीय तह, व्यवसायीलगायतसँग छलफल भएकाले थप कडाइ गरिने उनको भनाइ छ । ४ भदौदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । बुधबार निषेधाज्ञाको समय सकिएपछि फेरि थपिएको हो । यो अवधिमा पनि उपत्यकामा दैनिक दुई सयभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।

कोभिडले प्रभावित हुँदै वृद्धवृद्धा र दीर्घरोगी, १०८ वर्षीयासहित एक सय नौ वृद्धवृद्धाको मृत्यु

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेसँगै सबैभन्दा बढी वृद्धवृद्धा प्रभावित हुन थालेका छन् । पछिल्लो एक महिनामा कोरोनाबाट ज्यान गुमाउने वृद्धवृद्धाको संख्या अत्यधिक बढेको छ । बुधबारसम्म कोरोनाबाट मृत्यु हुनेहरूमध्ये ६२ प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथिका छन् ।

नेपालमा कोरोनाको संक्रमण देखिएको झन्डै पाँच महिनापछि ४ जेठमा एकजनाको ज्यान गएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको चार दिनपछि ८ जेठमा दोस्रो व्यक्तिको मृत्यु भएको थियो । उनी गुल्मीका ४१ वर्षीय पुरुष थिए । त्यसयता सरदर दुई दिनमा एक जनाको मृत्यु हुँदै आएकोमा साउनयता भने मृत्युको दर एक्कासि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सरकारले तयार पारेको मृतकको सूचीअनुसार बुधबार साँझसम्म मुलुकभर एक सय ७५ जनाको कोभिडका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अधिकांश वृद्धवृद्धा छन् । साउन पहिलो सातासम्म ५० वर्षमुनिका उमेर समूहका मृत्यु हुनेको संख्या बढी थियो ।
तर, साउन दोस्रो साताबाट क्रमशः ५० वर्षमाथिको उमेर समूहका मानिसको मृत्यु बढ्दै गएको देखिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्म मृत्यु भएका एक सय ७५ जनामा एक सय नौजना ५० वर्षभन्दा माथिका छन् । उनीहरू सबै दीर्घरोगी भएको जनाइएको छ ।

सरकारले तयारीविना लकडाउन खोल्नु र समुदायस्तरमा संक्रमण पुग्नुले वृद्धवृद्धाको मृत्युदर बढाएको चिकित्सकहरूले बताएका छन् । कोरोनाबाट २९ दिने शिशुदेखि एक सय आठ वर्षकी वृद्धाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । तथ्यांकअनुसार २९ दिने शिशुदेखि २० वर्षसम्मका आठजना, २१ वर्षदेखि ४९ वर्षसम्मका ५८ जना र ५० वर्षदेखि माथिका एक सय नौजनाको मृत्यु भएको छ ।

वृद्धवृद्धामा मृत्युदर बढी देखिन थालेकाले सचेत रहनुपर्ने मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले आग्रह गरे । ‘कोरोना संक्रमण समुदायस्तरमा देखिएसँगै दीर्घरोगी र वृद्धवृद्धामा हुने संक्रमणसँगै मृत्यु पनि बढेको छ । यसले हामीलाई थप गम्भीर बनाएको छ । त्यसैले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुहोला,’ डा. अधिकारीले भने । उनले घरबाट निस्कनै परे पनि मास्क, पन्जा र भौतिक दूरीको पूर्णपालना गरेर मात्रै निस्कन आग्रह गरे ।

एकै दिन ११ को मृत्यु, आठ सय ८५ संक्रमित थपिए

कोभिडबाट पछिल्लो २४ घन्टामा मुलुकभर ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि ५ भदौमा पनि ११ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभर आठ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३४ हजार चार सय १८ पुगेको छ । बुधबारसम्म १९ हजार पाँच सय चारजना निको भएका छन् । पछिल्लो समय संक्रमित बढ्दै गएका छन् भने निको हुने दर घट्दै गएको छ । बुधबार देशभर एक सय ७० जना सघन उपचार कक्षमा छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा उपत्यकामा तीन सय एक संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेका छन् ।

निषेधाज्ञापछिको सूचक पनि निराशाजनक

कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा ४ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । एक साता लामो निषेधाज्ञा बुधबार सकिएसँगै फेरि एक साता थपिएको छ ।

तर, निषेधाज्ञा भएपछिको सूचक पनि निराशाजनक रहेको छ । यो अवधिमा पनि परीक्षण बढाउँदा संक्रमित बढ्दै गएका छन् भने परीक्षण घट्दा संक्रमित पनि कम देखिएका छन् । कोरोनाबाट निको हुने दर घटेको छ भने मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like