मानवता

by समतल अनलाइन
  • मुकुन्द कृष्ण थापा

रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु !
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै
बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट
खै कहिले निस्किएलान् ?
महझैँ गुलिया शब्दहरु !!

अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थरथरी काप्दै
सहारा मागीरहेका हातहरुलाई
गरिबीले थकित भएकाहरूको आर्तनादलाई
सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले
खै कहिले हटाउलान् ?
वर्गीयताको तुलोमा जोखिने बिभेदहरु !
मेहनत रोपी पौरख फलाउनेहरुमाथि
रजाइँ गरेर
हीनताबोधको हिलो छ्याप्दै
ठालु पल्टिनेहरुले
आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा
धनको गुलियो वरिपरि
फनफनी घुमिरहेकाहरुले
खै कहिले चढ्लान् ?
विवेकका अग्ला अग्ला शिखरहरू !!

खोटाङ
(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )

 
 
  
 

You may also like