कारागारमा कोरोनाको त्रास : ६ कारागारका ५४ मा संक्रमण

by समतल अनलाइन

केन्द्रीय कारागारका सयभन्दा बढी महिला एकै पटक बिरामी, तर परीक्षणको पहल नै भएन
काठमाडौं। देशका विभिन्न कारागारका ५४ जनामा कोरोना संक्रमण देखिएको छ, फैलिने क्रम बढ्दो छ ।

सुन्धारास्थित केन्द्रीय कारागारको महिला सेलमा सयभन्दा धेरैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । एकैपटक त्यति धेरैमा रुघा, खोकी र ज्वरो देखिएपछि जेलभित्र त्रास छ । तैपनि सरकारले परीक्षणका लागि चासो देखाएको छैन ।

कैदीबन्दीहरूले परीक्षणको माग गरे पनि स्वाब संकलन हुन सकेको छैन । जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकीको आशंका गरिएको बताए । ‘करिब एक सयजनामा रुखा, खोकी र ज्वरो आएको भन्ने छ,’ उनले भने, ‘केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकी भएको आशंका गरिएको छ, केहीको परीक्षण पनि भइरहेको छ ।’

गत साता एक जनामा संक्रमण देखिएपछि केन्द्रीय कारागारको अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी तथा त्यहाँ रहेका अन्य कैदीबन्दीको परीक्षण गरिएको थियो । जसमा थप एकजनामा संक्रमण देखिएको र अरूको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शनिबार सिन्धुलीबाट उपचारका लागि केन्द्रीय कारागार ल्याइएका कैदीमा संक्रमण देखिएको थियो । यो शनिबार जेलकै अस्पतालमा उपचाररत एक महिला कैदीमा संक्रमण देखिएको बाँस्कोटाले बताए । दुवै जना क्वारेन्टिनमा बस्दै आएकाले उनीहरूको अरूसँग घुलमिल नरहेको उनको भनाइ छ ।

त्यस्तै, पर्सा कारागारका जेलरसहित ३२ जनामा संक्रमण देखिएको छ । यहाँ करिब एक हजार दुई सय थुनुवा छन् । संक्रमितमध्ये चारजना आइसोलेसनमा छन्, अरू डिस्चार्ज भइसकेका छन् । जेलरलाई समेत संक्रमण भएकोमा शनिबार डिस्चार्ज भएका छन् ।

बाँके कारागारका सात जना कैदीबन्दीलाई संक्रमण भएकोमा सबै निको भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै, सिराहामा ६ जना संक्रमित भएका छन् । सुनसरीको झुम्का कारागारमा पनि ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्याङ्जामा एक कैदीमा संक्रमण देखिएको छ ।

संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारहरूमा भेटघाट बन्द गरिएको छ । तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । ‘पर्सामा अदालत र अस्पताल लगिएका कैदीबन्दीमा संक्रमण देखिएको छ,’ उनले भने, ‘यसरी बाहिर लगिएकाहरूलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौँ ।’

नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टिनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ । संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको छ ।

हाल देशभरिका जेलमा करिब २३ हजार कैदीबन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू छन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा ३१ सय कैदीबन्दी छन् ।

देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नु परेकाले संक्रमण छिट्टै फैलने जोखिम बढेको हो । जेलमा संक्रमण बढेपछि कैदीबन्दीका आफन्तले समेत चिन्ता बढेको बताएका छन् । कारागारमा सामूहिक मेस र बसोवास हुने भएकाले एकैजनाबाट धेरैलाई संक्रमण फैलने जोखिम छ ।

कोरोना समस्या सुरु भएपछि महान्यायाधिवक्ता कार्यालयले एक वर्षसम्म मात्र कैद सजाय भएका कैदीहरूलाई धरौटी राखेर छुट्ने मौका दिने निर्णय गरेको थियो । जसअनुसार दुई सय १९ जना छुटेका छन् । त्यस्तै सुधारगृहमा रहेका दुई सय २८ जना नाबालकलाई पनि यो अवधिमा छाडिएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like