कोरोना सन्त्रास : आधा देशमा निषेधाज्ञा

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि सोमबार साँझसम्म २९ जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेका छन् ।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार १४ जिल्लामा जिल्लाभर निषेधाज्ञा छ भने १५ जिल्लामा संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरिएको छ । यसैगरी, एक जिल्लामा पूर्ण लकडाउन, आठ जिल्लामा आंशिक लकडाउन, दुई जिल्लामा आंशिक सिल र एक जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै, पाँच जिल्लामा सरकारी सेवा क्षेत्र छुट्याएर आंशिक रूपमा बन्द गरिएको छ ।

‘कतै पूर्ण रूपमा निषेधाज्ञा छ, कतै संक्रमणको अवस्था हेरेर आवश्यक क्षेत्रमा मात्रै निषेधाज्ञा लगाइएको छ, कतै सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता लामिछानेले राजधानीसँग भने । लामिछानेका अनुसार संक्रमणको गति बढेपछि एउटा जिल्लामा पूर्ण लकडाउन गरिएको छ । यस्तै आठ जिल्लामा आंशिक लकडाउन गरिएको छ ।

यस्तै दुई जिल्लामा संक्रमणको गति बढेपछि आंशिक सिल गरिएको छ भने एउटा जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै पाँच जिल्लामा सरकारी सेवा क्षेत्र छुट्याएर आंशिक रूपमा बन्द गरिएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी र नुवाकोटमा आंशिक सेवा बन्द गरिएको छ ।

सप्तरी, नुवाकोट, बाँके, बारा, पर्सा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, दोलखा पाल्पालगायतका जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, धनुषा, महोत्तरी, जुम्ला, धादिङ, रुकुम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, बाग्लुङ र गोरखा, मकवानपुरसहितका केही जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी, झापाका केही स्थानीय तहले अवस्थाअनुसार लकडाउन गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ को कोटालटोल र वडा नम्बर १९ को महरुहिटीमा अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरिएको छ । यस्तै, भक्तपुर, ललितपुर तथा सिरहा, मोरङ, दार्चुलाका केही स्थानीय तहमा लकडाउन छ ।

यसैगरी, कञ्चनपुर, काठमाडौं, भक्तपुर, ललितपुर, कपिलवस्तुमा स्थानीय प्रशासनले सेवा बन्द गरेका छन् । बारा, जुम्ला, पाल्पा र रामेछापले अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा र सिल गरेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिका र रामेछापले रामेछाप नगरपालिकामा अर्को निर्णय नहुँदासम्मका लागि सिल गरेका छन् ।

सरकारले यसअघि ११ चैतदेखि लगाएको लकडाउन ६ साउनमा अन्त्य गरेको थियो । अहिले भने सरकारले सोलोडोलो रूपमा देशभर लकडाउन नगरी स्थानीय प्रशासनलाई नै अवस्था हेरेर निर्णय गर्ने अधिकार दिएको हो ।

सोही अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालयले आंशिक तथा जिल्लाभरि निषेधाज्ञा वा सिल गर्ने काम गरिरहेका छन् । संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनसँगको समन्वयमा स्थानीय सरकारले समेत अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आइरहेका छन् ।

धनुषाको सबेला नगरपालिका, महोत्तरीको बर्दिबासका १, २, ७ र १४ नम्बर वडा, बलुवा नगरपालिकाको १ देखि ११ वडा र गौशाला नगरपालिकाका केही वडामा लकडाउन गरिएको छ ।

सिरहाको मिर्चैया, लहान, गोलबजार, धनगढीमाई, सखुवानन्कारपट्टी, विष्णुपुर, लक्ष्मीपुरपतारी, सुखिपुर, भगावनपुर, बरियापुर र नरहामा लकडाउन छ ।

मोरङको विराटनगर, सुन्दर हरैंचा, सुनवर्षी, बेलबारी, केराबारी, रतुवामाई, दार्चुलाको मार्मा, झापाको बिर्तामोड, रूपन्देहीको देवदह र बुटवल र कैलालीको कैलारीमा लकडाउन गरिएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like