सहायक रथी राणासहित तीन जना बर्खास्त

by समतल अनलाइन

काठमाडौं। वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर समेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।

सैनिक स्रोतका अनुसार राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर भएको छ । गत जेठदेखि राणा सेनाको राष्ट्रिय सेवा दलमा थुनामा थिए । स्रोतका अनुसार राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ । उनलाई सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको थियो ।

यसैगरी, महासेनानी सिलवाललाई १५ लाख ७८ हजार ४ सय ८० रुपैयाँ बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुने गरी करबाही गरिएको छ ।

सैनिक अदालतको फैसला सैनिक ऐन, २०६३ बमोजिम भएको सेनाले जनाएको छ । साथै सो प्रकरणमा मुछिएका सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने निर्णय सैनिक अदालतले गरेको छ ।

यसैगरी, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे ९अवकाश प्राप्त० लाई सफाइ दिने गरी फैसला भएको छ ।

सेनाका एक उच्च अधिकारीले सेनाभित्र अब रिभर्स करप्सनले गति लिन थालेको र भ्रष्टाचार गरिसकेपछि म पहिला त्यहाँ कार्यरत थिएँ तर अब बचें भनेर मुक्त हुन सक्ने अवस्था नरहेको बताए ।

सेनाभित्र भ्रष्टाचार, अनियमितता तथा बेथिति बढेको गुनासो आउन थालेपछि पछिल्लो समय त्यस्ता गतिविधिविरुद्ध प्रधान सेनापति पूर्णचन्द्र थापाले कडा कदम चाल्दै आएका छन् । थापाले भ्रष्टाचारमा संलग्नहरू उपर कडा नीति अख्तियार गर्दै अघि बढेपछि सेनाभित्र भ्रष्टाचार तथा अनियमितता अभियोग लागेकाहरू धमाधम तानिन थालेका हुन् ।

यसअघि समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचारणसम्बन्धी कसुर गरेको अभियोगमा तीनजना अधिकृतसहित पाँच जनालाई दोषी ठहर गर्दै कारबाहीको फैसला गरेको थियो ।

त्यस बखत महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश भएको थियो । फैसलापछि दोषी देखिएका महासेनानीलाई पदबाट बर्खास्त गर्दै दुई महिना जेल सजायको आदेश भएको थियो ।

यसअघि समेत अवकाशप्राप्त प्राविधिक उपरथी सुधीर श्रेष्ठलाई सैनिक अदालतले हवाई महानिर्देशनालयमा महानिर्देशक रहँदा अनियमितता गरेको ठहर गर्दै दोषी ठहर गर्दै ५८ लाख ९५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको थियो । त्यसअघि नै श्रेष्ठले गत मंसिरमा सैनिक सेवाबाट राजीनामा दिएका थिए ।

त्यस बखत श्री सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, आठ जना सैनिक अधिकृतहरूलाई सचेत र एक जना अधिकृत तथा नौ जना अन्य दर्जालाई सफाइ दिने गरी फैसला भएको थियो ।

सेनाले अनियमिततामा संलग्नलाई कोर्ट अफ इन्क्वाइरी गठन गरेरै अनुसन्धान गर्दै आइरहेको छ । कोर्टको अनुसन्धानपछि आरोप प्रमाणित भए कारबाहीको दायरामा ल्याउन सिफारिस हुनेछ ।

सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भविष्यमा समेत सैनिक अनुशासन र आचरणविरुद्धको क्रियाकलापमा शून्य सहनशीलताको नीति लिइने जनाएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like