कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्न रुसी ह्याकरको हमला

काठमाडौं । रुसी ह्याकरहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ ।

रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास गर्दै आएका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरु रुसी ह्याकरहरुको निशानामा रहेको एनसीएससीको दाबी छ ।

एनसीएससीले देशको नाम लिए पनि ती देशका कुन–कुन संस्था ह्याकरको निशानामा छन् भनेर खुलाएको छैन । ह्याकरहरुले अहिलेसम्म कुनै सूचना चोरी गरिसके कि, गरिसकेका छैनन् भन्ने पनि खुलेको छैन । यद्यपि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको काममा भने कुनै बाधा नपुगेको बताइएको छ । एजेन्सी

 

 
 
  
 

You may also like