घुस्याहा कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन तयार छु : मन्त्री अर्याल

१३ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताएकी छन् ।

मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गरिन् । सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उनले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गरिन् ।

सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो छ । मन्त्री अर्यालले घुस नलिन कर्मचारीलाई र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराइन् । नदिए कसैले पनि घुस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाइ छ ।

उनले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढी विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न प्रविधिको विकासमा जोड दिनु परेको पनि स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई सचेत गराए ।

उनले कानुन तथा पूर्वाधारको अभावमा केही समस्या भए पनि विस्तारै सेवाग्राहीहरुको सेवा प्रभावको कामलाई प्रभावकारी बनाउन सरकार लागि परेको पनि बताए ।

 
 
  
 

You may also like