सन् २०२० पछि एक वर्षमै अर्को टि-२० विश्वकप हुने

काठमाडौं ।अष्ट्रेलियामा सन् २०२० मा हुने आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्रबाटै बाहिरिएपछि यति बेला नेपाली क्रिकेट टोलीको चर्को आलोचना भइरहेको छ । नेपाली क्रिकेटको भविष्यलाई लिए प्रश्न उठ्न थालेका छन् । तर यसबीचमा एक खबरले भने नेपाली क्रिकेटलाई केहि आशा दिएको छ ।

विश्व टि-२० वरियतामा ११ औं स्थानमा रहेको नेपाल प्रतियोगिताकै अब्बल मानिएको थियो । तर छनोटका ४ खेलमा २ मा हार २ मा जितका साथ तेस्रो स्थानमा रहँदै नेपाल अप्रत्याशित रुपमा बाहिरियो । तुलानात्मक रुपमा कमजोर मानिएको कतार र आयोजक सिंगापुरसँग हारसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भयो ।

अष्ट्रेलियामा अर्को वर्ष टि २० विश्वकप सकिएलगत्तै सन् २०२१ मै पनि टि २० विश्वकप हुने पक्का भएको छ । उक्त विश्वकपको आयोजना भारतमा हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०१६ पछि टि२० विश्वकपलाई चार वर्षको स्वरुपमा लगेको छ । जस अनुसार सन् २०२० पनि अर्को विश्वकप २०२४ मा हुनुपर्ने हो । तर आईसीसीले सन् २०२१ मा भारतमा टि२० विश्वकप हुने बताएको छ । उक्त टि२० विश्वकपमा १६ देशको सहभागिता रहने छ ।

आईसीसीले गत वर्ष च्याम्पियन्स ट्रफीलाई हटाएर टि२० विश्वकप गराउने निर्णय गरेको हो । लगातार दुई वर्ष टि२० विश्वकप हुन लागेको यो दोस्रो पटक हो । यस अघि सन् २००९ र २०१० मा पनि लगातार दुई वर्ष टि२० विश्वकप भएको थियो । सन् २०१८ अप्रिलमा पाँच दिन सम्म चलेको आईसीसीको बैठकले च्याम्पियन्स ट्रफीको स्थानमा टि२० विश्वकप गर्ने निर्णय गरेको थियो ।

त्यसको दुई वर्षपछि अर्थात सन् २०२३ मा भारतमै एक दिवसिय विश्वकप हुने छ । च्याम्पियन्स ट्रफीमा आईसीसी वरीयताका शीर्ष आठ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । तर आईसीसीले टि २० को लोकप्रियतालाई थप उचाई दिन उक्त प्रतियोगिता हटाउने निर्णय गरेको हो । टि२० को लोकप्रियतालाई थप उचाईमा पुर्याउन आईसीसीले गत वर्षदेखी आफ्ना सबै सदस्य राष्ट्रलाई टि२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ ।

सन् २०१७ मा इंग्ल्यान्डमा सम्पन्न cह्याम्पियाँस ट्रफीको फाईनलमा भारतलाई हराउँदै पाकिस्तानले जितेको थियो । सन् १९९८ बाट सुरु भएको उक्त प्रतियोगिता २००६ सम्म दुई वर्षको अन्तरालमा भएको थियो । सन् २००९ पछि भने आईसीसीले चार वर्षको संरचामा लग्यो । अब भने यसको स्थानमा टि२० विश्वकप हुने छ ।

एसिया छनोटबाट बाहिरिंदा पिडामा रहेको नेपालको लक्ष्य अब सन् २०२१ को टि २० विश्वकपमा केन्द्रित हुन आवश्यक छ । सधैं प्रतियोगिताका लागि छोटो समय तयारी थाल्ने नेपालले साँच्चै दोस्रो पटक टि२० विश्वकप खेल्ने हो भने अहिले देखि नै स्पष्ट रणनिती र तयारीका साथ अघि बढ्नुपर्छ । अन्यथा सन् २०१४ मा पहिलो टि २० विश्वकप खेलेको नेपालले पुन: टि२० विश्वकप खेल्न लामो समय सघंर्ष गर्नुपर्ने हुन्छ ।

 
 
  
 

You may also like