मध्यरातसम्म सात घण्टा वामदेव निवासमा छलफल, के निस्कियो निचोड ?

काठमाडौं। नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओली निकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घण्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैंसेपाटीमा छलफल गरेका छन् ।‘डिनर’ सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । शुक्रबार बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका थिए ।

नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी दिएका छन् । गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भनेका छन्, ‘मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरै पटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।’

शुक्रबार साँझ साढे ६ बजेदेखि राति साढे १ बजेसम्मको छलफलमा शुक्रबार प्रचण्डनिवास खुमलटारमा भएको सचिवालयका ६ नेताहरूको छलफलबारे जानकारी लिँदै पोखरेलसहितका नेताहरूले गौतमलाई ओलीको पक्षमा मनाउने कोशिस गरेका थिए । गौतमले सचिवालयका नेताहरूलाई बताएअनुसार ओली समूहका नेताले महाधिवेशनपछि पार्टीको र संसदीय दलको नेतृत्व गर्ने गरी अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

यसबाहेक ओली समूहका नेताहरूले प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउन लागेको भन्दै उनीहरूले सकभर पार्टी एकता जोगाउने पक्षमा र यदि विभाजनकै दुर्घटना निम्तिएमा पूर्व एमालेधारको ‘सिनियर’ नेताको हैसियतमा ओलीलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो ।

जवाफमा गौतमले दुवैतर्फबाट पार्टी फुटाउने गृहकार्य भएको भन्दै आफूलाई निरन्तर धोका दिएका ओलीको पक्षमा पनि नलाग्ने र प्रचण्ड–नेपाल समूहको नेतृत्वको पार्टीमा नलागी बरु एक्लै भए पनि ‘स्वतन्त्र वामनेता’को हैसियतमा बस्ने जवाफ फर्काएका थिए ।

‘मैले उहाँलाई एकतर्फी निरन्तर सहयोग गर्दै आएँ, तर उहाँ (केपी ओली)ले मलाई हदैसम्म अपमान मात्रै गर्नुभो, धोका दिनुभो, उहाँहरू (प्रचण्ड–नेपाल) पनि सहमतिभन्दा बहुमत र अल्पमतको नाममा निर्णय गरेर पार्टी फुटाउने तयारीमा जस्तो देखिनुहुन्छ, खोज्दै हुनुहुन्छ, तयारी त्यस्तै छ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागीमध्ये एक नेताले भने, ‘विभाजनबाट के हुन्छ ? मलाई सबै थाहा छ, दुर्घटना नहोस्, त्यस्तो अवस्था आयो भने म (ओली÷प्रचण्ड–नेपाल समूह) कतै लाग्दिनँ, बरु एक्लै भए पनि तटस्थ बस्छु ।’

तर, भेटमा सहभागी संसदीय दलका उपनेता नेम्वाङले पनि गौतमसँग सकारात्मक कुराकानी भएकाले परिणाम देखिन बाँकी रहेको बताए । ‘भेट भयो, हामी उहाँको निवासमै खाना खाएर फर्कियौं । हामीले अहिलेको समग्र सन्दर्भ पनि राख्यौं, उहाँका पनि आफ्ना कुरा थिए, तर कुराकानी राम्रो भएको छ, तर हेरौँ, परिणामहरू सबै जोडिएर आउने हो,’ नेम्वाङले भने ।

गौतमले पार्टीमा विभाजन आएको अवस्थामा स्वतन्त्र हैसियतमा बस्ने घोषणासमेत गरेको नेम्वाङले दाबी गरे । ‘उहाँको भनाइ प्रष्ट छ, पार्टी फुट्नु हुँदैन, जोसुकैले फुटायो त्यस्तो अवस्थामा म कतै पनि लाग्दिनँ, बरु स्वतन्त्र भएर बस्छु भनेर घोषणा गर्नु भएको छ,’ नेम्वाङले भने ।

नेकपाको सचिवालयभित्र गौतम र रामबहादुर थापा ‘बादल’ कहिले ओली त कहिले प्रचण्ड–नेपाल समूहको भेलामा सहभागी हुँदै आएका छन् । पछिल्लो पटक गत ४ असारमा विज्ञप्तिमार्फत गौतमले आफू प्रचण्ड–नेपाल समूहमा रहेको जानकारी गराएका थिए भने बादल केही दिनयता उनीहरूकै भेलामा सहभागी हुँदै आएका छन् ।

यद्यपि, बादलले शुक्रबारको खुमलटार भेलामा पार्टीमा फुटपरस्त प्रवृत्तिलाई आफ्नो साथ नरहने बताएको एक नेताले जानकारी दिए । पछिल्ला दिनमा प्रचण्ड–नेपाल समूहमा लागेका गौतमलाई पुनः ओली समूहमै फर्काउने कसरत चलिरहेको छ ।

उनले शुक्रबारै बिहान राष्ट्रपति विद्या भण्डारीसँग भेटर्वार्ता गरेका थिए । करिब दुई घन्टाको छलफलमा गौतमले राष्ट्रपतिसँग पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बारेमा विमर्श गरेको बताइएको छ ।

साँझ ओलीनिकट नेताहरूसँगको छलफलअघि गौतम खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा सचिवालयका ६ नेताको छलफलमा पनि सहभागी भएका थिए ।

उता, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि स्थायी समिति बैठक स्थगनपछिको अवस्थामा बालुवाटारको सन्देशसहित अध्यक्ष प्रचण्डसँग शुक्रबारै बेग्लै विमर्श खोजे पनि समय व्यवस्थापनका कारण सम्भव नभएको स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like