सत्ताको राजनीति उत्कर्षमा, जनताको स्वास्थ्य उपेक्षामा

काठमाडौं। स्वास्थ्य मन्त्रालयले गत १५ असारमा अबदेखि दैनिक १० देखि १५ हजारसम्म पिसिआर परीक्षण गर्ने घोषणा गर्‍यो ।दायरा बढाउन केही ठाउँमा पिसिआर मेसिन जडान गरिए, केही निजी प्रयोगशालालाई पनि परीक्षण अनुमति दिइयो । तर, परीक्षणका लागि चाहिने अत्यावश्यक किट (भिटिएम, आरएनए एक्स्ट्रयाक्सन किट र पिसिआर रिएजेन्ट) भने पुर्‍याउन सकेको छैन । जसले गर्दा मन्त्रालयको घोषणाअनुसार परीक्षणको दायरा बढ्नुको सट्टा दिनदिनै साँघुरिँदै छ ।

मन्त्रालयले घोषणा गरेअनुसार परीक्षण गरिए स्वाब संकलन गर्ने भिटिएम एक दिनलाई पुग्ने मात्रै छ । पिसिआर रिएजेन्ट र आरएनए एक्स्ट्र्याक्सन किट भने ११ दिनलाई पुग्ने छनन् । स्वास्थ्य मन्त्रालयका अनुसार भिटिएम केन्द्रमा चार हजार पाँच सय ९२ र सातवटै प्रदेशमा नौ हजार पाँच सय ६७ गरी जम्मा १४ हजार एक सय ५९ मात्रै छ ।

त्यस्तै, पिसिआर रिएजेन्ट केन्द्रमा ९२ हजार तीन सय २४ र प्रदेशहरूमा १३ हजार सात सय ९६ गरी एक लाख ६ हजार २० छ । आरएनए एक्स्ट्रयाक्सन किट भने संघमा ९७ हजार दुई सय ७६ र प्रदेशहरूमा ६ हजार ६ सय १६ गरी एक लाख तीन हजार आठ सय ९२ मौज्दात छन् । यो शुक्रबारको तथ्यांक हो, शनिबारसम्म मौज्दात सामग्रीको परिमाण अझै घटेको छ ।

मन्त्रालयले परीक्षणको दायरा बढाउने घोषणा गरेको १५ असारमा अहिलेसम्मकै धेरै सात हजार सात हजार सात सय ९१ नमुना परीक्षण गरिएका थिए । त्यसयता शनिबारसम्म क्रमशः चार हजार सात सय ११, चार हजार आठ सय ८६, चार हजार पाँच सय ३७, चार हजार चार सय ८३ र चार हजार ५० नमुना परीक्षण गरिएका छन् ।

मौज्दात सबै सामग्री ओम सर्जिकल सप्लार्यसमार्फत खरिद गरिएका हुन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार उसले सबै सामग्री अझै दिएको छैन । भिटिएम २५ हजार मात्रै दिएको थियो ।

एक लाख ४५ हजार भिटिएम दिन बाँकी नै छ । स्रोतका अनुसार दुई दिनभित्र बाँकी सामग्री दिने प्रतिबद्धता उसले गरेको छ । त्यस्तै युनिसेफ र वल्र्ड बैंकले एक–दुई दिनभित्र पिसिआर परीक्षणका लागि चाहिने तीन लाख भिटिएम, पिसिआर रिएजेन्ट र आरएनए एक्स्ट्रयाक्सन किट उपलब्ध गराउने आश्वासन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पिपिई ५१ हजार आठ सय ४७, गमबुट, ४८ हजार चार सय ९०, गगल्स र फेस सिल्ड एक लाख ६८ हजार सात सय ३०, एन ९५ मास्क दुई लाख पाँच हजार तीन सय ७३, पन्जा नौ लाख ६४ हजार आठ सय ८५, गाउन सेट ६ लाख ७९ हजार नौ सय २८, सर्जिकल मास्क ३० लाख २७ हजार चार सय १८ र सुजकभर तीन लाख आठ हजार चार सय ३६ मौज्दात छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार गोरखाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कतारबाट १७ असारमा नेपाल फर्केका गोरखा पालुङटार नगरपालिकामा घर भएका पुरुषको जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै, रुपन्देहीको देवदह नगरपालिका घर भएका पुरुषको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

गौतमका अनुसार अहिलेसम्म दुई लाख ४६ हजार दुई सय ९७ जनाको नमुना परीक्षण गरिएको छ । त्यसमध्ये १५ हजार चार सय ९१ जना संक्रमण पुष्टि भएको छ । ६ हजार चार सय १५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार ४२ संक्रमित उपचाररत छन् ।

उपत्यकाका १२ स्थानबाट स्वाब संकलन गरिने

स्वास्थ्य मन्त्रालयले उपत्यकाका तीन जिल्लाका १२ स्थानबाट नमुना संकलन गर्ने तयारी गरेको छ । चार दिनयता उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले नमुना संकलनको दायरा बढाउन थालेको हो । यसअघि उपत्यकाबाहिरबाट आएका व्यक्ति र संक्रमितको सम्पर्कमा रहेका केही व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा मात्रै नमुना संकलन गरिएको थियो ।

मन्त्रालयका अनुसार उपत्यकामा करिब तीन सयजनाको हाराहारीमा मात्रै नमुना संकलन भएको छ । तर, समुदायमा गएर भने संकलन गरिएको छैन । स्रोतका अनुसार उपत्यकाका चार जनामा कुनै पनि ‘ट्राभल हिस्ट्री’विना नै संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन, तिनकुने, कोटेश्वर, शंखमूल, बुद्धनगर, मैतीदेवी, टोखा हरियालीबस्ती, खुसिबु, भक्तपुरको भोलासिंह, बोडे र ललितपुरको नख्खु, प्युटार क्षेत्रमा सयजनाको दरले नमुना संकलन गरिनेछ ।

चिकित्सकहरूका अनुसार विश्व स्वास्थ्य संगठनले संक्रमणको चार स्टेप तय गरेको छ । एक व्यक्तिलाई मात्रै संक्रमण भएको खण्डमा पहिलो स्टेप मानिन्छ । सो व्यक्तिबाट परिवार, उसको सम्पर्कमा आएका व्यक्तिहरूमा देखियो भने दोस्रो स्टेप पुगेको मानिन्छ ।

ट्राभल हिस्ट्री नभएको र समुदायको केही भागमा ठूलै संख्यामा देखियो भने त्यसलाई तेस्रो स्टेप मानिन्छ । देशैभरका ठाउँठाउँमा महामारीको रूपमा समुदायमा देखिएको खण्डमा त्यसलाई चौथो अर्थात् अन्तिम स्टेप भनिएको छ । अहिले नेपाल दोस्रो स्टेपबाट तेस्रो स्टेपमा प्रवेश गर्न लागेको चिकित्सकहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like