खोला तर्न सधैं पैसा : बर्खामा डुंगामा तरेबापत सय रुपैयाँ, हिउँदमा बाँसको पुलमा हिंडेको २० रुपैयाँ

झापा । गौरीगन्ज र झापा गाउँपालिका जोड्ने माई नदीमा वर्षौंसम्म पुल नबन्दा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।हुलाकी राजमार्गअन्तर्गत पर्ने यो नदीमा पक्की पुल निर्माणका लागि २०६८ मै ठेक्का लागेको थियो । तर, ठेकेदार कम्पनीले पुलका लागि पिलर मात्र बनाएर वर्षौदेखि अलपत्र पारिदिँदा स्थानीय बर्खामा उर्लदो माई नदी डुंगाको सहारामा पार गर्न बाध्य भएका हुन् ।

झापा गाउँपालिकाबाट गौरीगन्ज र गौरीगन्जबाट झापा गाउँपालिकामा खेती गर्ने तथा पारिवारिक काममा आउजाउ भइरहन्छ । तर, नदीमा पुल नबन्दा लगातारको वर्षासँगै टिलपिल नदी डुंगामा तर्नुपर्ने स्थानीयको बाध्यता छ । बर्खामा मात्र होइन, हिउँदमा पनि खोलाले सास्ती दिने गरेको स्थानीय बताउँछन् ।

खोला तर्नकै लागि उनीहरूले हिउँद–बर्खामै पैसा तिरिरहेका छन् । स्थानीय ईश्वर माझीको परिवारले बर्खामा डुंगा चलाउँछ । डुंगामा तर्दा स्थानीयबाट पैसा लिन्छन् । हिउँदमा उनैले खोलामा बाँसको पुल लगाउँछन् । पुल तरेको पनि पैसा तिर्नुपर्ने बाध्यता छ ।

‘यो खोलाको बाटो भएर दैनिक हिँड्नुपर्छ, हिउँदमा बाँसको पुलमा तर्दा २० रुपैयाँ लाग्छ । साइकल लिएर आयो भने ३० रुपैयाँ अनि मोटरसाइकलमा आउँदा ५० रुपैयाँ लाग्छ,’ गौरीगन्ज–१ महाभाराकी साइँली मुर्मु भन्छिन्, ‘बर्खामा डुंगाबाट तर्दा एकजनाको ७० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लाग्छ । यहाँ त हामीले सधैं पैसा मात्र तिरिरहनुपरेको छ ।’

पुल बनाउन ठेक्का लागेको नौ वर्षमा पिलर मात्र ठडिए
त्यस क्षेत्रका स्थानीयलाई जोखिम मोलेर खोला तर्नुको विकल्प पनि छैन । राजमार्गसम्म आएर ओहोरदोहोर गर्न एक दिनको यात्रा गर्नुपर्छ । समयमा पुल नबन्दा उनीहरू यहींबाट यात्रा गर्न बाध्य छन् ।

छेउमै रहेको पुलको पिलर हेरेर उनीहरू यात्रा गर्न बाध्य छन् । ‘पुल हिउँदमा बनाए जस्तो गर्छ । बर्खामा बिम खोलेर फेरि राख्छ । यसो गरेको नौ वर्ष भयो । अब त पुल बन्ने आस मरिसक्यो,’ स्थानीय बाह्रगली राजवंशी भन्छिन्, ‘नाउ चेढरै हिँड्छौँ । कहिलेकाहीं खोला ठूलो हुँदा त डर पनि लाग्छ ।’

डुंगामा जोखिमपूर्ण यात्रा गर्दा धेरै त्रास भएको स्थानीय बताउँछन् । झापा गाउँपालिकाबाट खेती गर्न गौरीगन्ज आएका नारायण सन्थालले बाध्यताले नदीमा जोखिम मोल्नुपरेको बताए । ‘यता (गौरीगन्ज) मा खेती छ । बर्खामै खेती गर्नुपर्छ । नआऔं भन्दा पनि नहुने, आउँदा पनि कतिवेला बगाउँछ कि भन्ने डर हुने,’ उनी भन्छन्, ‘डर त भनिसाध्य छैन । एउटा बाँसको भरमा डुंगा चलाएको हुन्छ । उसको हात खुस्कियो भने के हुन्छ, कल्पना पनि गर्न सकिँदैन ।’

पुल नबन्दा जोखिम मोलेर भए पनि बर्खाको भेलमा डुंगा चलाउनुपरेको डुंगा चालक विपीन माझी बताउँछन् । ‘हाम्रो हजुरबुबादेखि नै यही काम गर्दै आएका छौँ । यो सेवा पनि हो । हामी भएनौँ भने मान्छेले ओहोरदोहोर गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘वर्षौँदेखि गर्दै आएको काम चटक्कै छाड्नु भएन । दिनभर मान्छे नआए पनि खोलामा नाउ लिएर कुरेर बस्छौँ ।’ माई नदीमा डुंगा चलाउन अन्त्यन्तै जोखिम भएको उनी बताउँछन् ।

‘नदी एकदमै ठूलो छ । पहाडमा पानी पर्‍यो भने यो ह्वात्तै बढ्छ । एउटा बाँसको भरमा कुदाउन यस्तो नदीमा निकै मुस्किल छ,’ उनी भन्छन्, ‘यसपटक त खोला दुईवटा भंगालोमा विभाजित भएको छ । कुदाउन बाटो पनि छैन, अलिकति गल्ती भयो भने त नाउ नै डुब्छ । पुल बनाए त हामी पनि अरू व्यवसाय गरेर बस्थ्यौँ ।’

निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गत पर्ने माई खोलासम्म पुग्न स्थानीयले उस्तै संघर्ष गर्नुपर्छ । ट्रयाक खोलिसकेको यो राजमार्गमा सवारीसाधन त के मान्छेलाई हिंडेर पुग्न पनि सास्ती छ । नदीछेउसम्म स्थानीय घाँस काट्न तथा वस्तु चराउन पुग्छन् ।

तर, उनीहरूलाई त्यहाँसम्म पुग्न पनि पाइलापाइलामा जोखिम छ । माई नदीले बनाएको स–साना भंगालो बाटोभरि छन् । ती भंगालाले सडकमा रहेका कल्र्भटहरू भत्काएका छन् । जसका कारण स्थानीय जोखिम मोलेर हिँड्न बाध्य छन् । नयाँ पत्रिका दैनिकबाट

खोला तर्न सधैं पैसा

 
 
  
 

You may also like