विद्यालयमा क्वारेन्टाइन, टोल–टोलमा कक्षा

बागलुङ । कोरोना महामारीका कारण विद्यालयमा क्वारेन्टाइन बनाइएपछि सामुदायिक विद्यालयहरूले टोलटोलमै कक्षा सञ्चालन गर्न थालेका छन् । बाग्लुङको जैमिनी नगरपालिका– ६ स्थित जनशिक्षित माविले शिक्षकलाई टोलमै पठाएर पढाउन थालेको हो ।

गत चैतको पहिलो साता वार्षिक परीक्षा सम्पन्न भएसँगै विद्यालय बन्द छन् । सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरिए पनि ग्रामीण भेगमा इन्टरनेट सुविधा छैन । क्वारेन्टाइन बनाइएका कारण विद्यालयमा पठनपाठन गर्न सम्भव नभएपछि टोलटोलमै गएर कक्षा सञ्चालन गर्न थालिएको जनशिक्षित माविका प्रधानाध्यापक नारायण चालिसेले बताए ।

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी समस्यामा परेकाले स्वअध्ययनको वातावरण सिर्जना गर्न पनि शिक्षकलाई टोलमै पठाएको उनको भनाइ छ । ‘हाम्रो विद्यालयमा अध्ययनरत सबै विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गरेका छौँ,’ प्रधानाध्यापक चालिसेले भने ।

यसका लागि विद्यालयले टोलटोलमा रहेको सार्वजनिक स्थान, आमा समूहका भवन, सामुदायिक भवन र बसोवास नभएका घर रोजेको छ । तोकिएको ठाउँमा हरेक दिन शिक्षक जाने गरेका छन् । त्यसवरिपरिका विद्यार्थी कक्षाका लागि आउने गरेका छन् । ‘विद्यार्थीले नजानेका कुरा सिकाउनु हुन्छ, गृहकार्य दिनु हुन्छ,’ प्रधानाध्यापक चालिसेले भने, ‘लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा पढ्ने बानी कम भएकाले टोलटोलमै गएर पढाउनु परेको हो ।’

कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा दुई सय ७१ विद्यार्थी छन् । उनीहरू विद्यालय आसपासकै क्षेत्रका छन् । जसले गर्दा टोलटोलमा पढाउन सजिलो भएको विद्यालयले जनाएको छ । विद्यालयले हरेक टोलमा दुई–दुई जना गरी २० शिक्षक खटाएको छ । करिब ८० प्रतिशत विद्यार्थी कक्षामा सहभागी भइरहेको प्रधानाध्यापक चालिसेले बताए । कामको समय सकिएपछि सबै विद्यार्थी कक्षामा सहभागी हुने उनको विश्वास छ ।

टोलमै कक्षा सञ्चालन भएपछि विद्यार्थीले पनि खुसी लागेको बताएका छन् । कक्षा १० मा अध्ययरत अनुषा शर्माले अब पढाइ हुने आशा जागेको बताइन् । ‘एसइई कसरी पास हुँला भनेर निराश थिएँ ।

पढाइ हुन थालेपछि केही आशा जागेको छ,’ उनले भनिन् । कक्षा ९ को परीक्षा दिएर घरै बसिरहेकी उनले आफैँले पढ्दा बुझ्न गाह्रो भएको बताइन् । ‘कक्षा १० को पुस्तक त छ, तर विद्यालय जान नपाउँदा पढ्न सकिएको थिएन,’ उनले भनिन्, ‘अहिले घरमै पढ्छौँ, नबुझेको कुरा टोलमै हुने कक्षामा सोध्छौँ । सजिलो भएको छ ।’

टोलटोलमा सञ्चान हुने कक्षामा माथिल्लो र तल्लो तहका विद्यार्थीलाई छुट्टाछुट्टै राख्ने गरिएको छ । विद्यार्थी पनि आकर्षित भइरहेको शिक्षक गोविन्द चालिसेले बताए । ‘विद्यार्थी पनि उत्साहित भएर आइरहेका छन् । पढाइ हुँदा खुसी पनि छन्,’ उनले भने ।

पढाइ नहुँदा सामाजिक सञ्जालमा मात्रै झुन्डिरहने गरेको अभिभावकले सुनाएको उनको भनाइ छ । टोलमै कक्षा सञ्चालन हुन थालेपछि अभिभावक पनि खुसी रहेको शिक्षक चालिसेले बताए ।

बाग्लुङ नगरपालिका–१३ को जनमत माविले पनि यसरी नै कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले वैशाखमै विद्यार्थीको घरघरमा पुगेर पाठ्यपुस्तक वितरण गरेको थियो । ‘सबै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍यााएका छौँ । स्वअध्ययन गर्न लगाएका छौँ । समयसमयमा शिक्षक पनि घरघरमै पुग्ने गरेका छन्,’ प्रधानाध्यापक परशुराम रिजालले भने ।

क्वारेन्टाइन बनेकाले तत्काल विद्यालयमा पढाइ गर्न नसकिने भएपछि टोलटोलमै पढाइ गर्ने अभियान सुरु गरिएको बाग्लुङ नगरपालिकाको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले बताए । १ असारदेखि हरेक विद्यालयले कुनै न कुनै तरिकाले विद्यार्थीलाई पढाउन थालेको उनले बताए ।

केही विद्यालयले माथिल्लो कक्षामा अनलाइनबाट पनि पठनपाठन गरिरहेको उनको भनाइ छ । अनलाइनबाट पठनपाठन गर्न सम्भव नभएको विद्यालयमा टोलटोलमै पढाउने अभियान थालिएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like