गण्डकीमा विहानै थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३ पुग्यो

स्याङजा । गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा नगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक एक जना गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

उनीहरु सबैजना भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । अहिले सङ्क्रमण पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्लाका आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ । मन्त्रालयले अहिलेसम्म ६ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । १ हजार ४१ जना निको भएका छन् भने १९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

 
 
  
 

You may also like