अक्सफोर्डले अनलाईन कक्षा ब्यवस्थित गर्ने

झविन्द्र देवकोटा
बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल सुख्खानगरले अनलाईन शिक्षालाई अझै ब्यवस्थित बनाउने भएको छ । कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकसँग चरणवद्ध रुपमा अनलाईन अन्तरक्रिया तथा छलफल गरि विद्यालयले संचालन गर्दै आएको अनलाईन कक्षालाई ब्यवस्थित गर्ने बताएको हो ।

कोरोना संक्रमणको महामारीले विश्वनै थला परेको अवस्थामा गरिएको लकडाउनमा विद्यार्थीलाई स्थीर राख्नुभन्दा अनलाईनबाट भएपनि उनीहरुलाई अध्ययनमा सक्रिय बनाउन अनलाईन जुम कक्षा संचालन गरिएको विद्यालयका प्राचार्य दिनेश भुषालले जानकारी दिनुभयो । अनलाईन पढाईलाई निरन्तरता तथा विद्यार्थीलाई नियमित बनाउनका लागि अनलाईन कक्षा ब्यवस्थापनको कार्यक्रमलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । अनलाईन मार्फत छलफलमा सहभागि भएका अभिभावकहरुले अनलाईन कक्षा सकारात्मक भएको र आफ्ना नानीबाबुहरुलाई घरै बसेर पढ्नलाई सहज भएको प्रतिकृया दिएका थिए ।

अभिभावकहरुले पाठ्यापुस्तकको उपलब्धताले विद्यार्थीको सिकाईलाई अझै राम्रो बनाउने उल्लेख गरे । अक्सफोर्डले गएको बैशाखदेखि कक्षा ५ देखि १० र एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई जुम मार्फत अनलाईन कक्षाहरु संचालन गर्दै आएको छ । चरणबद्ध रुपमा कक्षा र विषय शिक्षकहरुले विद्यार्थीलाई अध्यापन गराउदै आएका छन् । विद्यालयले आफ्नो छुट्टै अक्सफोर्ड एप्स बनाएर विद्यार्थीलाई विषयगत गृहकार्य, सूचना र जानकारी दिदै आएको प्राचार्य भुषालले बताउनुभयो ।

 
 
  
 

You may also like