सैनामैनामा संचारकर्मीलाई बीमा र थप क्वारेन्टाईन सुरक्षित तवरले बिकास निर्माण र कृषि कार्य अगाडि बढाईने

टिका खरेल
सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिकाले नगरमा रहेका संचारकर्मीहरुको कोरोना बीमा गर्ने भएको छ । नगर कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठकले नगरमा रहेर काम गर्ने संचारकर्मीहरुका लागि एक एक लाखको बीमा गर्ने निर्णय गरेको हो ।

 

कोरोना भाइरस ( कोभिड १९ ) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन , प्रशारण र प्रकाशित गरिरहेका संचारकर्मीहरुका लागि एक एक लाखको बीमा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो –‘विपत्तिको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले यो निर्णय गरेका हौँ । ’

नगरपालिकामा संचार क्षेत्रमा कार्यरत सूचना विभागबाट जारी भएको प्रेसपासका आधारमा कोरोना विशेष बीमा गरिने नगरप्रमुख कार्कीको भनाइ छ । बीमाको लागी लाग्ने शुल्क नगरपालिकाले तिर्नेछ ।
त्यस्तै विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिका क्षेत्रभित्र फोहोरमैला व्यवस्थापन अन्तर्गत फोहोरमैला उठाउने कार्यमा संलग्न सवारी चालक तथा श्रमिक, एम्बुलेन्स चालक, नगरपालिका अन्तर्गत दमकल चालक र सहयोगी सहितका सवारी चालकहरुको पनि एक एक लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय गरेको छ ।

भारत तथा तेस्रो मुलकमा रहेका नागरिकको तथ्याङ्क संकलन

नगरपालिकाले रोजगारीको शिलशिलामा भारत तथा तेस्रो मुलकमा गएका नेपालीहरुको तथ्याङ्क संकलन गर्दै घर आउन इच्छुकहरु नागरिकहरुको समेत तथ्याङ्क संकलन गरेको छ । बैठकले पून ः कोही छुटेको अवस्थामा २ दिन भित्र अद्यावधिक गरी नगरपालिकामा पेश गर्न वडा कार्यालयहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

क्वारेन्टिन थप गर्ने योजना

नगरपालिकाले तिन ठाउँमा क्वारेन्टिन अस्पताल थप गर्ने योजना बनाएको छ । सैनामैना नगरपालिकाले भारत तथा तेस्रो मुलकमा गएका नेपालीहरुको फर्कने क्रम बढ्दै गएकोले हाल संचालनमा रहेको सैनामैना १ बनकट्टा स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा स्थान अभाव हुने भन्दै थप ३ ठाउँमा क्वारेन्टिन अस्पताल थप गर्ने योजना बनाइएको हो । जस अनुसार क्वारेन्टिनको व्यवस्थापनका लागि वडा नं.१ देखी ४ सम्म वडा नं ३ का वडाध्यक्ष एवम् नगर प्रबक्ता रत्न बहादुर पौडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै वडा नं ५ देखी ८ नं सम्मका लागि वडा नं ६ का वडाध्यक्ष बसन्त पाण्डे र वडा नं ९ देखी ११ सम्मका लागि वडा नं ११ का सुनिल प्रसाद मरासिनीलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । क्वारेन्टिन व्यवस्थापन गरी जेठ ८ गते सम्म संचालनमा ल्याउन विपद् व्यवस्थापन समितिले निर्देशन समेत दिएको छ ।

साथै पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा आइसोलेसन सेन्टर सञ्चालन गर्न जिल्ला तथा प्रदेश स्तरबाट माग भई आएमा नगर प्रमुखले अर्थात् नगरले स्वीकृत गर्ने निर्णय समेत गरिएको हो ।यसैगरी नगरपािलकाले लकडाउनलाई थप कडाइ गर्दै प्रभावकारी बनाउने भएको छ । पालिकाले जेठ २० गते सम्म एक्सकुलसिभ मोडल लागु गर्ने र सो अवधिभर स्वास्थ्य सुरक्षा अपनाई सामाजिक दुरी कायम हुने गरी कृषि कार्य, सार्वजनिक विकास निर्माण, खाद्य सामाग्रीको व्यवस्थापन तथा तरकारी तथा दूधजन्य लगायतका अत्यावश्यक सेवा सञ्चालन गर्ने भएको छ । यसैगरी निर्माण व्यवसायीहरुले सार्वजनिक निर्माणमा आवसीय श्रमिकहरुको व्यवस्थापन गरी योजना कार्यान्वयन गर्ने, मजदुरहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने र साविकमा गठित वडास्तरीय र टोल स्तरीय लकडाउन अनुगमन तथा गस्ति टोलीबाट नियमित अनुगमन गर्ने निर्णय पनि गरेको छ ,बैठकले बैंक तथा वित्तीय संस्था, विमा र लघुवित्त वित्तीय संस्थाहरु साविक बमोजिमको तालिका अनुसार सञ्चालन गर्ने र नगरपालिका अन्तर्गतका सहकारीहरुले तालिका मिलाई नियमित सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

पाठ्य पुस्तक विक्री वितरण सम्बन्धमा जेठ ६ देखी तयारी गर्ने र पुस्तक व्यवसायीहरुले परीक्षणको रुपमा जेष्ठ ७, ८ र ९ गते सामाजिक दुरी कायम गरी विक्री वितरण गर्न दिने निर्णय समेत भएको छ । विपद् व्यवस्थापन बैठकले यस वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न नीजि विद्यालयहरुलाई निर्देशन दिने र बाध्यताबस् पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा नगर शिक्षा शाखाको अनुमति लिनुपर्ने छ । पुस्तक बिक्री वितरणका सम्बन्धमा अवस्था हेरिकन पूनः निर्णय गर्ने भएको छ ।

 
 
  
 

You may also like