सावधान नभए अफ्रिकामा दुई लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौंं । विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाममा समयमै ध्यान पुर्‍याउन नसके अफ्रिकी क्षेत्रमा दुई लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओले अफ्रिकी क्षेत्रका ४७ देशमा गरेको अध्ययन–विश्लेषणपछि सुरक्षाका उपायले काम नगरेका खण्डमा ती देशमा एक लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी जारी गरेको हो ।

तीमध्ये पनि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरून सबैभन्दा बढी जोखिमममा रहेको अध्ययनले देखाएको छ । तसर्थ ती देशमा कोरोनाविरुद्ध अति सावधानी अपनाउनुपर्ने र सुरक्षाका उपाय व्यवस्था गर्नुपर्ने सुझाव डब्ल्यूएचओले दिएको छ ।

गत मार्चमा गरिएको अध्ययनले के पत्ता लगाएको छ भने अफ्रिका क्षेत्रमा औसत प्रति १० लाख मानिसका लागि ९ वटा मात्र आईसीयू वार्ड छन् । अफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर मत्सिदिसोले यस क्षेत्रका सरकारले सावधानी नअपनाएका खण्डमा कोरोना महामारी धेरै वर्षसम्म रहने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘तसर्थ परीक्षण, ट्रेसिङ, आइसोलेसन र उपचारको व्यवस्थापन गर्नु अति आवश्यक छ ।’

 
 
  
 

You may also like