अज्ञात रोगको कारण महोत्तरीमा मृत्यु हुनेको संख्या १२ जना पुग्यो

महोत्तरी । महोत्तरीमा फेरि एक जनाको अज्ञात रोगका कारण मृत्यु भएको छ ।आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

दनुवारको मृत्यु भएसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका बस्ती हुन् । स्थानीयका अनुसार दनुवार बिहानसम्म बिरामी थिएनन् । अचानक बिरामी परेर उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो ।

मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने घटनास्थल पुगेका चिकित्सकहरुले बताएका छन् ।

 
 
  
 

You may also like