बोझो कुन कुन रोगको उपचारमा प्रयोग हुन्छ र कति भन्दा बढि खानु हुदैन ? सम्पुर्ण जानकारी

प्रायः सबै नेपालीले घाँटीको समस्यामा प्रयोग गर्ने जडीबुटी बोझोलाई संस्कृतमा ‘बचा’ नामले चिनिन्छ । यसको काण्डलाई औषधिका रूपमा प्रयोग गरिन्छ । यसको लेटिन नाम अकोरस कालामस हो । यो एरियसी फेमिलीअन्तर्गत पर्दछ ।

ओसिलो ठाउँमा पाइने बोझो झट्ट हेर्दा अदुवाजस्तै देखिन्छ । यसका औँला जत्रो मोटो र थुप्रै जोर्नी हुन्छन् । नेपालको तराईदेखि ६ हजार फिटसम्म पानी बढी भएको ठाउँमा यो जडिबुटी पाइन्छ । यसको प्रयोगले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्छ । पेट दुखाइ कम गर्न पनि मद्दत गर्छ । शरीरलाई पनि लठ्याउँछ । पिसाब र दिसा लगाउन र उल्टी गराउन पनि यसको प्रयोग गरिन्छ ।

खकार निकाल्न मद्दत गर्ने भएकाले श्वासप्रश्वासको समस्यामा पनि प्रभावकारी छ । बोझोले पीडा कम गर्न र शरीर लठ्ठ पार्ने विभिन्न क्लिनिकल रिसर्चबाट देखिएको छ । रक्तचाप घटाउन र श्वासप्रश्वास गति कम गर्न पनि यो प्रभावकारी छ । यसमा पाइने आर्सोन र वेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ ।

आयुर्वेद ग्रन्थहरूमा मेध्य, कण्ठय, वेदनास्थपन र सुलहर, शोथहर कर्म गर्ने भएकाले, मानसिक तनाव, हिस्टेरिया, अनिन्द्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्याको समाधानका लागि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ । यसले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्छ भन्ने विभिन्न आयुर्वेदिक ग्रन्थमा उल्लेख छ ।

पेटमा भएको अत्यधिक ग्यासलाई निकाल्न मद्दत गर्ने भएकाले ‘कार्मिनेटिभ’को रूपमा यसलाई प्रयोग गरिन्छ । सानो टुक्रा बोझो चुस्दा मानसिक तनाव एवं थकाइ कम गर्छ । बोझोको जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ । यसलाई विभिन्न स्वास्थ्य समस्याहरू जस्तै अरुचि, टाउको दुख्ने, बाथमा प्रयोग गर्न सकिन्छ । यसको रस पिलो, जोर्नीको पीडामा बाह्य रूपमा प्रयोग गर्न सकिन्छ ।

बोझो प्रयोग गर्ने काइदा

बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

बोझोले ठिक पार्ने स्वास्थ्य बिकारहरु

बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आयुर्वेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ । मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ । शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ ।

१. घाँटी दुखेको ठिक हुन्छ ।

२. शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।

३. पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ । यसले आरम दिन्छ ।

४. मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ ।

५. हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।

६. यसले स्मरणशक्ति बढाउन काम गर्छ ।

७. उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।

८. बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ । दम रोगमा यसले प्रभावकारी काम गर्छ ।

९. पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ ।

१०. पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।

कति सेवन गर्ने ?

कुनैपनि औषधीको मात्रा हुन्छ । राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि बिष हुन्छ ।

चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । बढी सेवन गर्दा कतिपय असर गर्न सक्छ । चूर्ण एवं धुलो एक सय २५ देखि पाँच सय मिग्रा र टुक्रा पाँच सय मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । यदि बढी मात्रामा प्रयोग गरेमा उल्टी हुने, जिब्रो र घाँटी सुनिने र अन्य समस्या देखिन सक्छ । तसर्थ आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रयोग गर्नुपर्दछ ।

बोझोको बारेमा विकिपेडियामा लेखिएको जानकारी

बोझो यो घाँटी बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो । यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ । जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ (पातको रूप समुराई तरवारको आकारको हुनाले) यसको स्वाद अलि परपराउने, पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले अङ्ग्रेजीमा sweet flag भनिन्छ ।

बोझो नेपालका हिमाली भेकका नदी, खोलानालातिर अक्सर समुद्री सतहभन्दा २,००० मिटर उचाइसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ । यो विरुवा जमीनमुनि रहेको काण्डबाट पलाएर आउँछ । काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएर रहेको हुन्छ । यो फिक्का सुन्तला वा खैरो गुलाफी रंगको र ०.६ देखि २.० सेन्टिमिटरको मोटाइ भएको हुन्छ । यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ । यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ । काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन् । यसको वासना सुगन्धित र स्वाद अलि परपराउने, पीरो र तीतो हुन्छ ।

पात जमीन मुनि रहेको काण्डबाट पल्हाई आएको हुन्छ । पात ५ देखि ४० से.मी. लामो र १ देखि ३ से. मी . चौडा भै टुप्पो तीखो भएको हुन्छ । बोझोको खेती यसको काण्डबाट ओसिलो जमीनमा गरिन्छ । नतिशितोष्ण वा केही न्यानो जलवायु तथा प्रशस्त मल, घाम र दलदल परिस्थिति यसलाई अति उपयोगी हुन्छ ।

यो जडीबुटी वाली रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ । हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ। संकलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ। यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ । प्रत्येक एक एकड जमीनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ । यसरी संकलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ। राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौँलमा कम हुन्छ । सुकेको काण्ड बोरामा कसेर ओभानो गोदाममा राखिन्छ ।

आयुर्वेदिय पद्धतिअनुसार यस जडीबुटीको काण्ड ग्रन्थी, बाथ, ज्वरो, शुल, कफदोष इत्यादिमा प्रयोग गरिन्छ । यसले भोग जगाउँछ, कण्ठ रोगलाई हित गर्दछ।

बैज्ञानिक नामः एकोरस क्यालामस (Acorus calamus Linn)

संस्कृत नामः बचा , उग्रगन्धा , गोलोमी , जटिला , उग्रा

वनस्पति परिवार एरेसी (Araceae)

 
 
  
 

You may also like