सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा (एसईई) को तयारी कक्षा सुरु भएको छ । नगरपालिकामा कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा स्थगित भएपछि सैनामैनामा रहेका विभिन्न सञ्चार माध्यमबाट तयारी स्वरुप आजदेखी दूरशिक्षा सुरु भएको हो ।‘लकडाउन’ का कारण विद्यार्थीहरुमा समस्या परेको हुँदा एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुको सजिलोका लागि घरमै बसेर अभ्यास गर्न सक्नेगरीे विभिन्न संचारमाध्यमको सहकार्यमा नगरपालिकाले अनलाइन कक्षा सुरु गरेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।
लकडाउनका क्रममा लोकप्रिय बनिरहेको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जुम एपबाट चैतदेखी संचालन गरिएको अनलाइन कक्षा विद्यार्थी माझ त्यति प्रभावकारी हुन नसकेपछि अझै परिस्कृत रुपमा रेडियो सँगै अन्य अनलाइन माध्यमबाट प्रत्यक्ष प्रशारण गरिएको कार्कीको भनाइ छ ।
कार्कीका अनुसार (एसईई) मा पढाइ हुने बिषयहरु मध्ये अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा पढाई हुनेछ । कक्षा विहान ८ ः ३० बजेदखी ९ ः बजेसम्म अंग्रेजी विषय, ९ ः १५ बजेदेखी १० बजे सम्म गणित विषय , दिउँसो ३ ः १५ बजेदेखी ४ बजे सम्म विज्ञान विषय र ४ बजेदेखी ४ स् ४५ बजे सम्म सामाजिक विषय नियमित रुपमा पढाइ हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले यस अनलाइन कक्षाको बारेमा सम्पुर्ण विद्यार्थी तथा अभिभावकमा जानकारी गराउन आग्रह गर्दै विद्यार्थीहरुलाई अधिकतम लाभ लिन प्रमुख कार्कीले अनुरोध गर्नुभयो । कार्कीले भन्नुभयो – ‘परीक्षाको तालिका सार्वजनिक नहुन्जेल र परीक्षाको केही दिन अघि सम्म पनि रेडियो तथा विभिन्न अनलाइन मार्फत पढाइ हुनेछ ।
नगरमा रहेका रेडियो मलमला ८८.६ मेगाहर्ज, रेडियो सैनामैना ९१ मेगाहर्ज, रेडियो टाइम्स ९४.८ मेगाहर्जले प्रत्यक्ष प्रशारण गरेका छन् । त्यस्तै रेडियो मलमला, हेल्लो सैनामैना नगरपालिका, साझा पत्र अनलाइनको सामाजिक सञ्जाल फेसबुक पेज र साझा पत्र अनलाइनको युटुुब च्यानलबाट पनि प्रत्यक्ष लाइभ हेर्न र सुन्न सक्नुहुनेछ ।
अनलाइनबाट एसईई तयारी कक्षा कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई शिक्षा शाखाले अनुरोध गरेको छ ।
चैत्र २३ गतेबाट सैनामैनाका विद्यालयहरुमा जुम एप मार्फत पनि विद्यार्थीहरुले अनलाइन माध्यमबाट अध्यापन समेत गरिरहेका छन् । सैनामैनामा सामदायिक विद्यालय तर्फ ११ र संस्थागत विद्यालय तर्फ पनि ११ विद्यालयका विद्यार्थीहरु एसईईको तयारीमा छन् ।
नगरपालिकाले कुनै पनि जानकारी लिनु परेमा ९८५७०३१३८७ र ९८६८८४०७२७ मा सम्पर्क गर्न समेत अनुरोध समेत गरेको छ । नगरपालिकाका विद्यालयमा आइसिटी माध्यबाट पनि विद्यार्थीहरुले अध्यापन गर्ने गरेका छन् ।