अमेरिकामा कोरोनाबाट एकै दिन २१ सयको मृत्यु, संक्रमित पाँच लाख २८ हजार ८७६

अमेरिका। प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अमेरिकामा एकै दिनमा विश्वमै अहिलेसम्मकै बढी मानिसको ज्यान गएको छ ।

अमेरिकामा कोरोना संक्रमणले शुक्रबार एकै दिन (२४ घण्टाभित्र) दुई हजार १०८ जनाले ज्यान गुमाएको त्यहाँस्थित जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । एकै दिनमा यति धेरै मानिसको ज्यान गएको विश्वमा यो नै पहिलो हो ।

संसारमै सबैभन्दा बढी संक्रमितको संख्या भएको अमेरिका अब मृत्युका हिसाबले पनि सबैभन्दा बढी क्षति बेहोर्ने देश बन्ने सम्भावना देखिएको छ । अहिलेसम्म विश्वमा सबैभन्दा बढी मृत्यु हुने देश इटली हो, जहाँ यो खबर लेख्दासम्म कोरोनाबाट १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १८ हजार ७६९ जनाको ज्यान गएको छ ।

तर, अमेरिकामा जुन गतिमा कोरोनाबाट संक्रमण र मृत्यु भइरहेको छ, त्यस हिसाबले कोरोनाबाट सबैभन्दा बढी मानव क्षति बेहोर्ने देश पनि अमेरिका नै बन्ने आशंका बढेर गएको छ ।

संक्रमितको संख्या संसारमै सबैभन्दा बढी अमेरिकामा पाँच लाख २८ हजार ८७६ पुगेको छ । यसपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा देखिएका छन् । त्यहाँ अहिलेसम्म एक लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन् ।

 

 
 
  
 

You may also like