गए राति देखियो चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौं। चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ ।

शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गए राति चन्द्रमाको बीचमा पहेंलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय भने, ‘यो राम्रो योग होइन, अहिले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिएको छ, यस्तो योग दुर्लभप्रायः हुन्छ ।’

वेदका छ अङ्गमध्येको एक ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिन्छ तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ । सूक्ष्म रुपमा हुननसकेको यसको अध्येताको स्वीकारोक्ति छ ।

ज्योतिषविद् डा. खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापीरूपमा ठूला घटना भएको सुनाउँछन् । विसं २०४६ मा यस्तै योग भएका बेला रसिया टुक्रिएको र नेपालमा जनआन्दोलन भई प्रजातन्त्र पुनस्र्थापना भएको थियो ।

रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो । चन्द्रमामा मङ्गलबार देखिएको दृष्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य चैत्र शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डल समेत स्वच्छ भएकाले मङ्गलबार राति आकाशमा फरक दृष्य देखिएको बताउँछन् ।

प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ । आज बिहान ८ः५२ सम्म पूर्णिमा तिथि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पूर्णिमा व्रत मङ्गलबार र हनुमान जयन्ती पूर्णिमामा सूर्योदय भएका दिन मनाइने भएकाले आज मनाइने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सुनाए ।

 

 
 
  
 

You may also like