जनताले राजालाई जस्तै हामीलाई पनि लखेट्न सक्छन् : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं, ६ भदौ । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन्। पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

उनले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी चलाइरहेको आरोप लगाए।

उनले भने, ‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजकालचाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’

उनले भने, ‘बुर्जुवाहरुले कम्युनिष्टहरुलाई लडेर कुनै हालतमा हराउन सक्दैनन्, तर कम्युनिष्टहरु जब सत्तामा पुग्छन् उनीहरुलाई पनि बुर्जुवाकरण गरिदिन्छन् । एउटा गोली पनि खर्च नगरी सत्ता पल्टाइदिन्छन् ।’

उनले अब पनि चनाखो नहुने र आफूलाई सुधार नगर्ने हो भने जनताले लखेट्ने तर्क गरे। उनले भने, ‘हिजो राजा महाराजा लखेटेका जनता हुन् ।

कम्युनिष्टहरु पनि राजा महाराजा जस्तो हुन खोजे भने बाँकी राख्दैनन, हामीकहाँ त्यस्तै लक्षण देखिँदैछ ।’

हिजो आफूहरु निकै अनुशासित भएकैले पार्टी एकता गरी यो अवस्थासम्म आइपुगेको भन्दै प्रचण्डले पार्टीभित्र अराजकता र अनुशासनहिनता बढ्दै गएको आरोप लगाए। ।

Share this:

 
 
  
 

You may also like