प्रधानमन्त्रीले मंगलबार देशको नाममा सम्बोधन गर्ने

१० मन्त्रीलाई थप जिम्मेवारी, निजी अस्पतालका डाक्टरलाई सरकारी सरह सुविधा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) देशका नाममा सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।

समय तय नभए पनि मंगलबार प्रधानमन्त्रीले देशका नाममा सम्वोधन गर्ने एक मन्त्रीले जानकारी दिएका छन् । पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिंदै थियो । तर, मन्त्रिपरिषद् आज (सोमबार) को बैठकले त्यसलाई लम्ब्याएर ३ वैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ ।

१० मन्त्रीले पाए थप जिम्मेवारी
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका १० मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद बैठकले १० मन्त्रीहरुलाई अतिरिक्त जिम्मेवारी दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादवलाई प्रदेश नम्बर २ र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसदमा भएका राजनीतिक दलहरुसँग निरन्तर सम्बाद र समन्वय गर्ने, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालिक र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन र समन्वयगर्ने जिम्मेवारी दिइएको छ ।

यसैगरी युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयम सेवक व्यवस्थापनको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवम् अर्थ–सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

स्वास्थ्य स्वयमसेविकालाई १५ सय भत्ता
यता स्वास्थ्य स्वयसेविकालाई एक पटकका लागि प्रतिव्यक्ति १५ सय रुपैयाँ उपलब्ध गराएर क्वारेन्टाइनमा बसे नबसेको अनुगमनका लागि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै निजी क्षेत्रका चिकित्सकहरुले सरकारी अस्पतालमा गएर काम गर्न चाहेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्ने र सेवा सुविधा सरकारी कर्मचारी अनुसार हुने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टरलाई सरकारी सरह सुविधा
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई पनि सरकारी डाक्टरहरु सरह सेवा सुविधा दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै डा. खतिवडाले भने, ‘निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र उहाँहरुको तह पनि त्यसैअनुसार मिलाइने छ ।’

कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सत प्रतिशत भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ।

 
 
  
 

You may also like