कुवेतमा भएको दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तलाई एनआरएनएको १–१ लाख सहयोग

काठमाडौँ। कुवेतको निर्माणस्थलमा दुर्घटना हुँदा मृत्यु भएका ६ जना तथा सोही दुर्घटनमा घाइते भएका अन्य २ जना नेपाली युवाका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक–एक लाखका दरले आर्थिक सहयोग गर्ने भएको छ।

संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसीले कुवेत दुर्घटनाका पीडित परिवारलाई एक–एक लाखका दरले आर्थिक सहयोग गर्न लागिएको डिसी नेपाललाई बताए।

‘एनआरएनए लाखौँ वैदेशिक रोजगारमा गएका नेपालीहरुको साझा संस्था हो। वैदिशक रोजगारीलाई मर्यादित तथा आइपर्ने समस्या समाधान तथा न्यूनिकरण गर्न एनआरएनमा अहिले वैदेशिक रोजगार विभाग गठन गरिएको छ,’ उनले भने, ‘सोही विभागमार्फत एनआरएनएका पदाधिकारीबाट संकलित रकम कुवेत दुर्घटनाका मृतक तथा घाइेतका परिवारलाई सहयोग गर्न लागिएको हो।’

सहयोग गर्नेहरुमा संघका अध्यक्ष कुमार पन्त १ लाख, उपाध्यक्षहरु डा. बद्रि केसी, अर्जुन श्रेष्ठ, सोनाम लामाले १–१ लाख, कोषाध्यक्ष महेश श्रेष्ठ १ लाख, सचिवहरु गौरी जोशी १ लाख, आरके शर्मा ५० हजार, र सहकोषाध्यक्ष लोक दाहाल ५० हजार रहेका छन्।

गएको फेब्रुअरी १२ तारिख बुधवार कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए।

दुर्घटनामा ६ जना नेपालीले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए। दुर्घटनामा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोका मगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरले ज्यान गुमाएका थिए।

यस्तै दुर्घटनामा धर्मेन्द साह र मनोरथ मण्डल घाइते भएका थिए। घाइते मध्ये धर्मेन्द साह अहिले पनि अस्पतालमै उपचाररत छन्।

 
 
  
 

You may also like