कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा हिमेश

by समतल अनलाइन

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारित नेपालकै पहिलो स्ट्याण्डअप कमेडी श्रृंखला कमेडी च्याम्पियनको फाइनलमा हिमेश पन्त प्रवेश गरेका छन् । हिमेश आजको श्रृंखलाबाट उत्कृष्ट तीनमा सिधै प्रवेश गरेका हुन् ।

सोमबारको श्रृंखलामा उत्कृष्ट प्रस्तुति दिएका हिमेशले चारै जना निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईको मन जितेर निर्णायक प्यानलको भिटो मार्फत सिधै उत्कृष्ट तीनमा प्रवेश गरेका हुन् ।

कमेडी च्याम्पियनको २५ औं श्रृंखलामा हिमेशले युवाहरुको भावना प्रस्तुत गरेका थिए । उनले श्रृंखलामा संसदमा स्वस्थानीको पन्ना च्यात्ने अभिब्यक्ति दिने सांसदको विषयलाई पनि ब्यंग्य गरेका थिए । प्रचण्डले पजेरो चढेको, चितवनमा रेणु दाहाल मेयर भएको, बाबुराम भट्टराई र कृष्णबहादुर महरालाई समेत सटायर हानेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत समेटेर दिएको प्रस्तुति दर्शक तथा चारै जना निर्णायकको मन जितेको थियो । प्रधानमन्त्री ओलीको भाषण र उखान टुक्का मिसाएर दिइएको प्रस्तुति उत्कृष्ट थियो । हिमेशले प्रस्तुतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, विजयकुमार गच्छदारको समेत उछितो काढेका थिए । भने, एमसीसीका पनि कुरा गरेका थिए । साथै लाइसेन्स परीक्षा पास भएकालाई एक वर्षपछि लाइसेन्स वितरण गर्ने ढिलासुस्तीलाई ब्यंग्य गरेका थिए ।

कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा परेका हिमेश वल्र्ड टुरमा जानेछन् । पफरमेन्स अफ द राउण्ड भएका हिमेशले २५ हजार नगद प्राप्त गर्दा उनले त्यो रकम चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरेका थिए । कमेडी च्याम्पियनको २६ औं श्रृंखलामा अतिथिका रुपमा धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे चलचित्र सेन्टी भाइरसको प्रमोसन गर्न आएका थिए ।

कमेडी रियालिटी शोको फाइनल उत्कृष्ट तीनमा हिमेश परेपछि अब दुई प्रतियोगी छनौट गर्न बाँकी छ । इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन र विष्णु प्रसाद गौडेल प्रतिष्पर्धामा छन् । उनीहरु मध्येबाट दुई जना दर्शकको भोटिङको आधारमा उत्कृष्ट तीनमा प्रवेश गर्नेछन् ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक हप्ता सोमबार र मंगलबार प्रशारण हुने गर्दछ । इ–सेवा प्रिजेन्टस रहेको कमेडी च्याम्पियन पछिल्लो समय रियालिटी शोहरुमा चर्चाको शिखरमा छ ।

 
 
  
 

You may also like