कोरोना संक्रमण आशंकित व्यक्ति टेकु अस्पतालबाटै फरार

by समतल अनलाइन

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् ।

चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेका थिए । चेकजाँचका क्रममा कोरोनाको आशंका भएपछि अस्पतालले उनलाई निगरानीमा राख्ने निर्णय गरेको थियो । निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार ती नागरिक साउदी अरबका हुन् । यो घटना एक साताअघिको हो । ‘कोरोना परीक्षण गर्न बाँकी थियो । निगरानीमा राख्ने तयारी भइरहेका बेला उनी भागे । उनको खोजी भइरहेको छ,’ स्वास्थ्य प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको पनि समस्या थियो । यसैकारण, उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति अस्पतालबाट भाग्नुलाई गम्भीर रूपमा लिइएको छ । करिब दुई साताअघि पोखरा पुगेका दुई चिनियाँ नागरिकमा कोरोना भाइरस संक्रमणको आशंका गर्दै मणिपाल अस्पताल रिफर गरिएको समाचार सार्वजनिक भएको थियो । राजधानी दैनिकबाट

 
 
  
 

You may also like