रुपन्देहीको दानापुरमा ११ औं ताल महोत्सव शुरु

by समतल अनलाइन

बुटवल।रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं. १ स्थित दानापुरमा गजेडी दानापुर ताल महोत्सव २०७६ शुरु भएको छ । रुपन्देही जिल्लाकै एक आकर्षक प्राकृतिक ताल रहेको दानापुरमा शुक्रबारदेखि ताल महोत्सव शुरु भएको हो ।
समयमाई सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महोत्सवमा पर्यटन, कृषि, घरेलु उद्योग, हस्तकला तथा औद्योगिक उत्पादनका एक सय बढी स्टल रहेका छन् । यो ११ औं ताल महोत्सव हो ।

महोत्सवमा कञ्चन गाउपालिकाभित्रका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, दानापुर तालमा डुंगा शयर, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, अन्तर विद्यालय बाघचाल, जोडी नृत्य प्रतियोगिता, मौलिक खाना तथा मास्टर सेफ प्रतियोगिता,बाल उद्यान आकर्षणका रुपमा रहेका छन् । प्रदेश सभा सदस्य भूमिश्वर ढकालले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले लुम्बिनी आउने पर्यटकलाई दानापुरमा ल्याउन सकिने बताए । यस ताललाई थप व्यवस्थित गरेर लुम्बिनीका पर्यटक यहाँ बास बस्न आउन लाएक बनाइनुपर्ने उनको भनाई थियो । यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहको उनले बताए ।
समयमाई सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले तालको पर्यटन प्रवद्र्धन र सिमसार क्षेत्रको संरक्षणमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउन वृहतस्तरमा ताल महोत्सव आयोजना गरिएको बताए । ताल क्षेत्रको पर्यावरण संरक्षण गर्दै पर्यटकीय पुर्वाधारहरु बनाउन एक अर्ब रुपैयां बढीको गुरुयोजना बनेको भन्दै अध्यक्ष थापाले यसमा साथ दिन स्थानीय,प्रदेश र संघीय सरकारसंग आग्रह गरे ।

फागुन ७ गतेसम्म चल्ने महोत्सवमा दुई लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य रहेको महोत्सवका प्रमुख कार्यकारी अधिकृत श्रीराज तिमिल्सेनाले बताए । महोत्सव उद्घाटनमा कन्चन–१ का अध्यक्ष हरिनारायण थारु,सोमनाथ शर्मा, लेखनाथ पौडेल, बाबुराम पौडेल,यमबहादुर क्षेत्री,दिनानाथ आचार्य,भरतमणि सापकोटा लगायतले बोल्दै कञ्चन गाउपालिकामै पहिलोपटक वृहत स्तरमा ताल महोत्सवसंगै ब्यापार मेला आयोजना हुनु सकारात्मक भएको धारणा राखे । १९.५ हेक्टर क्षेत्रफल रहेको ताल क्षेत्र परिसरमा दर्जनौं पिकनिकस्थल निर्माण गरिएको छ भने खुल्ला स्थानमा झन्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान व्यवस्थापन गरिएको छ । तालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेपछि तालको १० वर्षे गुरुयोजना निर्माण गरिएको छ ।

सिमसार क्षेत्रमा समेत सूचीकृत ताललाई नमूना पर्यटकीय स्थल बनाउन एक अर्ब रुपैयां लागतको गुरुयोजना निर्माण भएको छ । गुरुयोजनासंगै तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर पु¥याउने लक्ष्य छ । तालसहित ९२.०२ हेक्टर क्षेत्रफलमा फैलिएको समयमाई सामुदायिक वन उपभोक्ता समूहको गुरुयोजना अनुसार तालको सौन्दर्यता र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएर पोखराको फेवा ताल जस्तै बनाउने लक्ष्य रहेको वनकी सदस्य ओमकला थापाले बताइन् । गुरुयोजना अनुसार दानापुर ताल परिसरमा करिब १० करोड लागतमा ६० मिटर अग्लो १५ तले भ्यू टावर, ६ करोड लागतमा दुई वटा स्वीमिङ पूल सहित सुविधासम्पन्न वाटर पार्क, तालको बीचमा आइल्यान्ड जलभूमि,एक हजार क्षमताको ध्यान÷योगा केन्द्र र चिडियाखाना बनाउने योजना रहेको छ । यस्तै आकर्षक प्रवेशद्वार, बोटानिकल गार्डेन, सेमिनार हल, खेल मैदान, संग्रहालय, भ्यू टावरको उत्तरतर्फ लभ पार्क पनि बन्ने छ । यस्तै दुईसय चार पाङ्ग्रे र एक हजार दुई पाङग्रे सवारी साधन राख्न मिल्ने गरी पार्किङ स्थल बनाइने छ । ताल वार पार गर्न र पिकनिक स्थल जान आकाशे पुल पनि बनाइने छ । तालको वरिपरी हरियाली वातावरणलाई यथावत राख्न वृक्षारोपण, पर्यटक तथा स्थानीयका लागि मर्निङ वाक र जगिङ गर्न मिल्ने गरी ताल वरिपरी अपांगमैत्री फुट ट्रेक निर्माणलाई गुरुयोजनाले समेटेको छ । तालको वरिपरिको लम्बाई करिब ५ किलोटिर रहेको छ । ताललाई आकर्षक बनाउन पुरै तालको वरिपरि फक्स लाइट जडान गर्ने योजना पनि छ ।

तालमा बाहिरको पानी र अन्य फोहोर पदार्थ मिसिन नदिन ताल वरिपरि नाली निर्माण गरिने पनि गुरुयोजनामा समेटिएको छ ।

स्थानीयको आय आर्जन बढाउन स्थानीयकै लगानीमा ताल नजिकका बस्तीमा होम स्टे सञ्चालन पनि गरिने गुरुयोजनामा राखिएको छ । ‘दानापुरलाई पोखराको प्रसिद्ध फेवा ताल जस्तै बनाउने लक्ष्य छ’–अध्यक्ष थापाले भने–‘गाउपालिका, प्रदेश सरकार र संघयि सरकारबाट गुरुयोजना अनुसार पुर्वाधार बनाउन वजेट अभाव हुन नदिने प्रतिवद्धता आएको छ ।’ आउंदो पांच वर्षभित्र गुरुयोजना अनुसारका पुर्वाधारका काम पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । ४३.७८ हेक्टर क्षेत्रलाई पर्या–पर्यटन क्षेत्रको रुपमा निर्धारण गरिएको ताल क्षेत्रमा दुर्लभ वनयजन्तुहरु समेत देख्न पाइन्छ । समुन्द्र सतहदेखि करिब १११ मिटर उचाईमा पर्ने यो तालको प्रचार प्रसार र पर्यटन प्रवद्र्धन गर्नका लागि २०६४ सालदेखि प्रत्येक वर्ष ताल महोत्सव गरिंदै आएको छ । महोत्सवमा दुई लाख दर्शकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । ताल महोत्सवमा आउने पर्यटकहरु डुंगा सयेर गरेर रमाउने गरेका छन् ।

 
 
  
 

You may also like