मानव सेवा आश्रमको महायज्ञ शुरु, सफल बनाउनु सबैको दायित्व : मन्त्री बराल

by समतल अनलाइन

बुटवल । मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि गर्न लागिएको ज्ञान विज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री बरालले बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने उद्देश्यले आयोजित महायज्ञलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । महायज्ञले प्रदेश सरकारले प्रदेश ५ लाई सडक मानवमुक्त प्रदेश बनाउन लिएको लक्ष्य पुरा गर्न सहयोग पु¥याउने भएकाले रुपन्देहीवासी मात्र नभई प्रदेशबासी सबैले सक्दो दान गरेर महायज्ञ सफल बनाउन मन्त्री बरालले आग्रह गरे । रुपन्देही र प्रदेश ५ मा दानवीरहरुको कमी नभएको औंल्याउंदै मन्त्री बरालले बेसाहारा र अशक्तलाई राखेर पालनपोषण गर्ने पवित्र उद्देश्यले आयोजित महायज्ञमा फराकिलो छाती बनाएर पुण्य आर्जन गर्न आग्रह गरे । मन्त्री बरालले बुटवल र नेपालगंञ्ज सडक मानव मुक्त भैसकेकाले अन्य सबै पालिकाहरुलाई पनि सडक मानव मुक्त बनाउन सबैको साथ चाहिने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मानव सेवा आश्रमले राज्यले गर्नुपर्ने काम गरेको र यसमा बुटवल उपमहानगरले साथ दिएको भन्दै महायज्ञ सफल बनाउन पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले मानव सेवा जस्तो पुण्य कर्म अरु नभएको भन्दै मानव सेवा आश्रमको महायज्ञमा उपस्थित हुन आग्रह गरे ।
महायज्ञ आयोजक मूल समितिका संयोजक लोकनाथ भुसालले मानव सेवा आश्रमको चार तले भवन बनाउन ११ करोड रुपैयां लागत अनुमान गरिएको र आर्थिक स्रोत नभएकाले महायज्ञ आयोजना गरिएको बताउंदै सबैको सहयोगको अपेक्षा गरे । भवनमा दुई सय जना बेसहारा व्यक्तिलाई राख्ने गरी भवनको डिजाइन गरिएको उनले बताए । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले प्रदेश ५ मा एक सय ३० जनासहित देशभरका ११ सय जना बेसहारा सडक मानवलाई आश्रय दिइरहेको बताउंदै उनीहरुको दीगो व्यवस्थापनका लागि भवन बनाउन महायज्ञ गर्नुपरेको बताए ।

मानव सेवा आश्रमले आफ्ना लागि नभई बेसहाराका लागि महायज्ञ आयोजना गरेकाले सबै क्षेत्रबाट सहयोग हुने विश्वास लिएको बताए । महायज्ञ उद्घाटनमा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री,पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतम,बुटवल वडा नंं ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ लगायतले बोल्दै आआफ्नो ठाउंबाट सहयोग गर्ने बताए । कार्यक्रमको सञ्चालन महायज्ञका महासचिव माधव नेपालको सञ्चालन र संरक्षक नन्दीकेशर ढकालको स्वागतमा सम्पन्न भएको थियो । बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा महायज्ञमा आश्रमका सद्भावना दुत मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य), हास्य कलाकार मनोज गजुरेल सहित सामाजिक अभियान्ताहरु, राजनीतिज्ञ एर्व धार्मिक सम्प्रदायका धर्मगुरुहरु समेत सहभागि हुने महायज्ञका सचिव गुनाराम घिमिरेले बताए ।

महायज्ञमा दैनिक सरदर ५ हजार जना परोपकारी व्यक्तिहरु सहभागि हुने र सबै धर्म सम्प्रदायका धर्मगुरुहरुलाई आमन्त्रण गरि सबै सम्प्रदायमा रहेका साझा बिषयहरु दया, मायाँ, करुणा, अहिंसा, मानवता, परोपकार जस्ता बिषयमा प्रवचन गराई धार्मिक सहिष्णुताको प्रवद्र्धन गर्दै मानवता बोध गराउन समेत महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको मूल समितिका सचिव कृष्ण पंगेनीले बताए ।
यहायज्ञ शुरु हुनु अघि महायज्ञस्थलबाट दर्जनौं संघसंस्थाको सहभागितामा शोभा कलश यात्रा (मानवता प्रवद्र्धन यात्रा) निकालिएको थियो । हेटौडामा मुख्य कार्यालय रहेको मावन सेवा आश्रमले हाल सात प्रदेशका १४ जिल्लामा १९ वटा आश्रममा १ हजार १ सय भन्दा बढी सयोगापेक्षी सडक मानवलाई सेवा प्रदान गरेको छ । बेसहारा र सहयोगापेक्षी सडक मानवलाई व्यवस्थापन गर्न चार तले भवन बनाउन बुटवलको हिलपार्क परिसरमा जग्गाको व्यवस्थापन भइसकेको छ । भवन बनाउन प्रदेश सरकारले २५ लाख वजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : सोमवार, माघ २०, २०

 
 
  
 

You may also like