मणिग्रामका सिद्धार्थ लाई ‘भ्वाईस अफ बुटवल ’को उपाधि

by समतल अनलाइन

बुटवल । बुटवलमा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले हात पारेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्रामका सिद्धार्थले मंगलबार भएको ग्राण्ड फिनालेमा २१ जना कन्टेष्टेन्टहरुलाई पछाडी पार्दै ‘भ्वाईस अफ बुटवल’को उपाधि हात पारेका हुन् ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसको ९ गतेदेखि बुटवल देवीनगरमा सञ्चालन गरिएको भ्वाईस अफ बुटवलको उपाधिकालागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

बुटवलको एम्स कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय सिद्धार्थ सानैदेखि गायनमा रुचि राख्ने र बुटवलको बागेश्वरी संगितालयमा संवित विधामा कक्षा लिईरहेको बताउँछन् । बुवा तुमलाल र आमा साबित्रा गैरेका छोरा सिद्धार्थले २०७४ मा तिलोत्तमा भएको व्यापार मेलामा सञ्चालन भएको भ्वाईस अफ तिलोत्तमाको सेकेन्ड रनर अफ हुन सफल भएका थिए ।

मंगलबार भएको ग्राण्ड फिनालेमा तिलोत्तमा नगरपालिका वडा नं १ शंकरनगरकी वर्षा ज्ञवाली द्वितीय भएकी छन । बुवा विष्णुप्रसाद र आमा भगवती ज्ञवालीकी छोरी १६ वर्षीया वर्षा दुर्गादत्त माध्यमिक बिद्यालय शंकरनगरमा कक्षा १० मा अध्ययन छन् । भ्वाईस अफ बुटवलको प्रतिस्पर्धामा उत्रिएका पाल्पा माथागढीका सन्दिप मगर तृतीय भएका छन् ।

पाल्पाको माथागढी गाउँपालिका गोठादी घर भई बुटवल कालिकानगरमा बस्ने सन्दिप मायाँदेवी टेक्निकल कलेजमा डिप्लोमा ईन फार्मेसी अध्ययन संगै तीन चार वर्षदेखि संगित बिधा पनि अध्ययन गरिरहेका छन् ।

गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि विजेता सिद्धार्थलाई ६५ हजार ५५५, द्वितीय वर्षालाई ३५ हजार ५५५ र तृतीय सन्दिपलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिएको संघका सदस्य तथा आधुनिक सांस्कृतिक कार्यक्रम संयोजक मनोज ध्वजुले जानकारी गराए ।

उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमाल, आधुनिक कार्यक्रम संयोजक मनोज ध्वजु, प्रायोजक गोदरेज किचनका सुमन केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको सञ्चालन सुमन अधिकारीले गर्नुभएको थियो भने निर्णायकमा सुरेश सेन्चुरी, नारायण थापा, बसन्त श्रेष्ठ र सुदन बासकोटा रहेका थिए ।

भ्वाईस अफ बुटवलको टप फाईभमा प्रतिस्र्धा गरेका बुटवल ११ देवीनगरका १६ वर्षीय सागर घिमिरे र रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं ७ भगलापुरकी अञ्जली थारुलाई प्रोत्साहन स्वरुप जनही १० हजार ५५५ रुपैंया नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

 
 
  
 

You may also like