सुरेश थापा
गुल्मी। आधारभूत तथा माध्यमिक तह विज्ञान विषयको पेशागत सिप विकास तालिम आज सम्पन्न भएको छ । सत्यवती गाउँपालिका गुल्मीको आयोजना र विज्ञान विषय समिति सत्यवतीको सहआयोजनामा ३ दिन सम्म सत्यवती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।
तालिममा सिकेका कुरालाई व्यवहारीक रुपमा लैजान सहभागि शिक्षक वर्गलाई आग्रह गर्दै सत्यवती गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका सभापति पारिश्वर ढकालले यो तालिमले विज्ञान शिक्षामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुरामा गाउँपालिका विश्वस्थ भएको उल्लेख गर्नुभयो । सोही अवसरमा संसारमा मानव जन्म लिएपछि राष्ट्रका लागि केहि गर्नुपर्छ भन्ने मान्यताका धनी प्रमुख प्रशिक्षक माधव प्रसाद अधिकारीलाई आयोजकका तर्फबाट दोसल्ला ओढाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सोहि कार्यक्रममा कार्यक्रम संयोजक छविलाल भण्डारीले सम्वोधन गर्दै विज्ञान शिक्षाको आवश्यकतालाई यो तालिमले पुरा गर्न सक्नेछ भन्ने विश्वासका साथ आफूहरु लाग्ने उल्लेख गर्दै प्रमुख प्रशिक्षकको प्रशंसा गर्नुभयो ।
सहभागिका तर्फबाट सत्यवती मा.वि.का शिक्षक होमनाथ बरालले बोल्दै शिक्षकहरु संग अथा ज्ञान रहेपनी विद्यार्थीहरुमा कसरी प्रस्तुत हुने ज्ञान अभावमा अलमलिएको उल्लेख गर्दै यसतालिमले शिक्षकहरुमा पूर्णता आएको र अब अलमलिन नपर्ने बताउनु भयो । तालिममा यस गाउँपालिका भित्रका २९ जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो । आत्माराम भण्डारी, देवराज पन्थि, मेख बहादुर थापा, पत्रकार लगायतको आतिथ्यता रहेको समापन समारोहको संचालन मणि ज्ञवालीले गर्नुभएको थियो ।