बुटवल। वरिपरि घना जंगल, साथमा चराचुरुङ्गीको आवाज । तलदेखि माथिसम्म करिब एक किलोमिटर दुरीमा पैदल मार्ग । त्यसैको छेउमा एउटा झ्याल र एक व्यक्ति । रातको समयमा बाहेक अन्य समयमा व्यक्ति झ्यालसँगै रहन्छन । ‘दैनिक ३० जनासम्म र कहिलेकाँहि विभिन्न समुहमा घुम्न आउनुहुन्छ’ प्रदशक एबम गुफाका सदस्य भानुभक्त भण्डारीले भने, ‘प्रचार–प्रसार हुनसके धेरै पर्यटक गुफा आउने थिए ।’ पछिल्लो समयमा समुहबाहेक दैनिक १० देखि १५ जनासम्म विचित्र गुफा घुम्न आउने उनले बताए । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु को कमलाबनमा रहेको विचित्र गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ । तर आवश्यक आर्थिक ब्यवस्थापन नहुँदा गुफाको पहिचान ओझेलमा परेको प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद भण्डारीले बताए ।
त्यसपछि केहि विकासका काम भएपनि विचमा भने धेरै समय अस्त व्यस्त नै रह्यो । पछिल्लो समय स्थानीयले नै समिति बनाएर केही रेखदेख र संरक्षण गरिरहेका छन् । त्यो पनि पर्याप्त छैन । निर्वाचनका बेला गुफाको विकासका बेला राम्रै आश्वासन आउँछ । तर चुनाव जितिसकेपछि भने ‘खोला तर्ने लौरो बिर्सने’ जस्तै भएको छ । ‘सकेसम्म प्रचार गर्न खोजिएको छ, तर आवश्यक मात्रामा भइरहेको छैन’ प्रमुख भण्डारीले भने, ‘स्थानीय सरकारदेखि केन्द्रसम्मले गुफाको विकासमा योगदान पु¥याउनु आवश्यक छ ।’
पाचँ सय जना अटाउने एउटै हल बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । शिवलिङ्गसहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ ।
गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारीले बताए । ‘विचित्र गुफा प्रवेश गरिसकिपछि यसप्रति आकर्षित नहुँने त कोहि हुँदैन्’ संरक्षक भण्डारीले धरातल अनलाईनसँग भने, ‘गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र छ ।’गुफाभित्र उचित प्रकाशको ब्यवस्था गरी यसको प्रचार–प्रसार गर्न सके पर्यटन विकासमा सहयोग पुग्ने धेरैको अनुमान छ । विचित्र गुफा कुल १८५ मिटर रहेको बताईएको छ । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थुन र निकै कलिला चट्टानहरु रहेका छन् । सजिलै तोडफोड गर्न सकिने यसका तस्विरहरुको संरक्षणमा ध्यान दिने, गुफा कहाँसम्म जान सक्छ भन्ने खोज गरेमा पर्यटन विकासमा विचित्र गुफा कोसेढुङ्गा सावित हुने स्थानीय बताउँछन् ।
गुफा संरक्षणको लागि ताला लगाएको अवस्थामा पनि गुफाभित्रका विभिन्न अनौठा आकृतिहरु चोरी समेत हुने गरेका छन् । स्थानीयकै पहलमा विचित्र गुफा संरक्षण तथा विकास समितिले आगन्तुक र अरु सहयोगीबाट लिएको रकमले गुफाको रेखदेख गरिदैँ आएको छ । तर त्यो पर्याप्त छैन । गुफा जान तम्घास–सिमलटारी–प्युठान सडक खण्डबाट झण्डै २० मिनेट उकालो र वस्तुको कालिकास्थानबाट १५ मिनेट ओरालो हिड्नु पर्ने बाध्यता छ । जसका कारण घुम्न चाहने पर्यटक पनि गुफा पुग्न नसकेको स्थानीय नरेश भण्डारीले धरातल अनलाईनलाई बताए । गुफालाई पर्खाल उठाएर संरक्षण गर्नुका साथै वरिपरि सिडी चिनेर केहि सहज बनाइएको छ । अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो गुफा हुन सक्ने यसको अझै धेरै कुरा लुकेरै बसेका छन् ।
गुफा व्यवस्थापनका लागि गठन भएको समितिले दुई तलासम्म अध्ययन गरेको छ । तर अन्य तलाहरु र त्यस भित्र भएका छुट्टै सुरुङ्गहरुको उत्खनन् र अनुसन्धान हुन नसकेको विचित्र गुफा ब्यवस्थापन समिति अध्यक्ष युवराज भण्डारीले धरातल अनलाईनलाई बताए । ‘गुफा केवल वस्तु र धुर्कोटको मात्र होइन, यो जिल्लाकै गौरव हो’ भण्डारीले भने, ‘अहिले बजेट अभावमा विकास हुन सकेको छैन, यसप्रति उच्च ओहोदामा हुने सबैको ध्यान जानुपर्छ ।’
विशेष गुरुयोजना बन्दै पछिल्लो समय विचित्र गुफाको विकास र प्रचार–प्रसारको लागि विभिन्न सरकार लागिपरेका छन् । अघिल्लो आर्थिक बर्ष धर्कोट गाउँपालिकाको आर्थिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा विचित्र गुफाको प्रचारको लागि होर्डिङ बोर्ड राखेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल जानकारी दिए ।
विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीकाअनुसार यसै बर्ष पुर्वाधार निर्माणअन्तरगत ५ नम्बर प्रदेश सरकारबाट ५० लाख विनियोजन गरिएको छ । जसबाट छल्दिदेखि गुफासम्म जाने पैदल मार्ग, बीचबीचमा प्रतिक्षालय, खानेपानी, शौचालयलगायतका पुर्वाधार निर्माणका काम गरिने अध्यक्ष भण्डारीले बताए । ‘भ्रमण बर्ष २०२० नजिकिदैँ छ, जसमा विचित्र गुफा महत्वपूर्ण पर्यटकिय स्थल बन्न सक्छ’ उनले भने, ‘आवश्यक काम हामिले गरेका छौँ, अब पर्यटकको पर्खाइमा छौँ ।
प्रस्तुती : हुमाकान्त पोखरेल
फोटो फिचर