बुटवलमा सडक किनारमा पुष्प उधान बनाउन सुरु

by समतल अनलाइन

सडक पुष्प खेती प्रदर्शनी कार्यक्रमको सुरुआत

बुटवल, साउन। बुटवलमा सडकका किनार र खाली जग्गामा मौसम अनुसारका फुलहरु रोप्दै पुष्प उधान बनाउने अभियान सुरु भएको छ । बुटवल वडा नं. १० को कालिकानगरस्थित सडक किनारको खाली ठाउँमा फुलका विरुवा रोप्दै शनिबार यो अभियान सुरु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सयपत्रीका विरुवा रोप्दै यो अभियानको शुभारम्भ गराउनुभएको छ । लुम्बिनी नर्शरी तथा पुष्प व्यवसायी संघको सहकार्यमा उपमहानगरपालिकाले पुष्प उधान र सडक पुष्प खेती प्रदर्शनी कार्यक्रमको सुरुआत गर्नुभएको हो ।

त्यसक्रममा उहाँले ‘पुष्प खेती गरांै आत्म निर्भर बनौं, आयात होईन निर्यात गरौं’ भन्ने नारालाई सार्थक बनाउन सहयोग पुग्ने बताउनुभयो । सडक किनारमात्रै नभएर घर वरपर र सार्वजनिक स्थानमा खाली ठाउँलाई सदुपयोग गरेर पुष्पखेती गर्न आग्रह गर्नुभयो ।
शनिबार मात्रै उक्त स्थानमा करिब एक हजार फुलका विरुवा रोपिएको वडा बुटवल–१० का अध्यक्ष पदम थापाले जानकारी दिनुभयो । व्यवसायिक रुपमा पुष्पखेती गर्दै आएका व्यवसायीहरुको सहकार्यमा बुटवलको छ लेन सडकको दायाँबायाँ मौसमी फुलका विरुवा रोप्ने कार्यक्रम तय भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रदेश सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग र फ्लोरी कल्चर एशोसिएसनको सह आयोजनामा हालै सञ्चालन गरिएको पुष्पखेतीसम्बन्धी तालिममा सहभागी भएकाहरुलाई प्रयोगात्मक कक्षा गराउन पनि सडक किनारमा पुष्पखेती प्रदर्शनी अभियान सुरु गरिएको पुष्प व्यवसायी संघका प्रदेश संयोजक रमेश पाण्डेले बताउनुभयो ।

सो अववसरमा मन्त्रालयका सचिव बैकुष्ठ अधिकारीले प्रदेश ५ लाई फुलमा आत्म निर्भर बनाउनका सबैसंग सहकार्य गरेर अभियान सुरु गरिएको बताउनु्भयो । उहाँले बुटवलको सडक किनारबाट सुरु भएको उधान निर्माणको अभियानलाई प्रदेशभर नै सञ्चालन गरिने जनाउनुभयो । फुलखेतीले वातावरण सन्तुलनमा मद्दत हुने र आयआर्जनको राम्रो श्रोत रहेको पनि उहाँको भनाइ थियो । प्रदेश ५ का १२ जिल्लामा पकेटक्षेत्र बिकास गरी फुलखेतीका बिकास गर्न आफुहरुले सरकारसंग सहकार्य गरिएको फ्लोरी कल्चर एशोसिएसन रुपन्देहीका
अध्यक्ष श्रृजना बस्यालले बताउनुभयो । यो अभियानका लागि पुष्प व्यवसायीहरुले करिब एक लाख फुलका विरुवा सहयोग गरेको युवा व्यवसायी तथा प्रदेश संयोजक पाण्डेले बताउनु्भयो । जनप्रतिनिधि तथा महिला अगुवा कला केसीले कार्यक्रमको सहजिकरण र कृषि प्राविधिक जनक भण्डारीले फुलका विरुवा रोप्ने कामको सहजिकरण गर्नुभएको थियो ।

नेपालमा वार्षिक १० देखि १२ करोड रुपैयाँको पुष्पको बीउ आयात हुँदै आएको बताइएको छ । मौसमी फूल (सयपत्री, डालिमा, साल्विया, सेल्सिया, पोख्कम, पोर्चुलका, भिम्का), बर्खेबाली (जेरिनियम, क्युसिया र इन्फेसनलगायत), जाडोयाममा हुने (सेन्जी, टेटोनिया, क्यालिन्डुला, एन्टीएनम, गान्थस, फ्ल्क, रेनामेकल्क, प्राइमुला, स्टकलगायत) पुष्पको बीउ आयात हुँदै आएको व्यवसायीहरुले बताएका छन् । अर्नामेन्टल प्लान्ट (फूल फुल्ने र नफूल्ने) सहित अर्किड, ग्लाडुअस, कट फ्लावर, पाम, जर्वेरा, जिनिया जहारा, गुलाव, बल्व, कार्नेसन, लिली, गोदाबरीलगायत पुष्पको बीउ र बेर्ना पनि आयात बढिरहेको बताइएको छ ।

 
 
  
 

You may also like