लोकमार्ग खुलाउन दुई हप्ता लाग्ने !

by समतल अनलाइन

बागलुङ । बागलुङको तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब दुई हप्ता लाग्ने भएको छ । जिल्लाको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्रयाक खोल्न करीब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्रयाक खोल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्ने गरी काम अगाडी बढाएको आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए । पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्याक खोल्ने काम शुरु गरिएको छ । “ट्रयाक खोल्ने ठाउँमा ठूलो ढुङ्गाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ” उनले भने, “तत्कालका लागि अस्थायी ट्रयाक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ ।”

सोमबारदेखि अवरुद्ध सडक खुलाउने काम बुधबार देखि सुरु गरिए पनि निर्माणको दायित्व पुष्पलाल मध्यपहाडी लोकमार्ग राजमार्ग वा स्थानिय सरकार कसले लिने भन्ने विषय टुंगो नलाग्दा काम रोकिएको थियो । विहिबार पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय कुस्मा पर्वतका प्रमुख थापाको उपस्थितिमा ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीसहित अन्य जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानिय समाजसेवी बुद्धिजीविहरुको विशेष छलफलले शुक्रबारदेखि बाटो खुलाउने काम सुचारु गर्ने निस्कर्ष निकालेको हो । ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयमा उक्त छलफल भएको थियो ।

ढोरपाटन नगरपालिकाका मेयर नेपालीले यस क्षेत्रको जनताको समस्यालाई मध्यनजर गर्दै जतिसक्दो छिटो अवरुद्ध बाटो खुलाउन निर्देशन दिएको र जनताले छिटो भन्दा छिटो राहत सुविधा पाउने बताए । “कामको दायित्व कसले लिने भन्ने विषय नमिल्दा काम रोकिएको थियो” उनले धरातल अनलाईनसँग भने, “पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालयका टोली आएर दायित्व लिएपछि काम निरन्तर अघि बढ्ने समझदारी भएको छ ।”

बाटो खुलाउने जिम्मा भने एसी कन्ट्रक्सन बुर्तिबाङलाई दिइएको छ । १० दिन भित्र बाटो खुलाउने काम सक्ने गरी काम गरिरहेको कन्ट्रक्सनका प्रमुख दिपक अदैले जानकारी दिए । ०७५ भाद्र ३० गते ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरे देउरालीमा गएको भिषण पहिरोले बडिगाड खोला थुनिदाँ करिब एक सय मिटर गहिरो र एक किलोमिटरभन्दा लामो ताल बनेको थियो ।

सडक बगाएपछि सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ । लोकमार्गको पर्वत खण्डमा दुई महीनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मतलगायतका काम शुरु गरिएको प्रमुख थापा मगरले बताए ।

वर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भिरमा जुनसुकैबेला पनि पहिरो खस्ने सम्भावना छ। सडकको पर्वतखण्डमा पर्ने कुस्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुलदेखि गिरीचोकसम्मको खण्ड पहिरोको उच्च जोखिममा छ ।

रासस र सुमन सुनारको सहयोगमा

 
 
  
 

You may also like