बालश्रममुक्त हुँदै इटा उद्योग

by समतल अनलाइन

बुटवल । मानव अधिकार दिवशको अवसर पारेर रुपन्देही र कपिलबस्तुका बालश्रम मुक्त इटा उद्योगलाइ सम्मान गरीएको छ । रुपन्देही र कपिलबस्तुका ८ वटा इटा उद्योगलाइ बालश्रम मुक्त उद्योगको रुपमा घोषणा गर्दै सम्मान गरीएको हो । नेपाल ग्लोबल फेयरनेश इनिसियटिभले मंगलबार रुपन्देहीको नयाँमिलमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उद्योगीलाइ सम्मान गरे ।

रुपन्देहीको सोना इँटा उद्योग सहित कपिलबस्तुका लम्की इँट्टा उद्योग, बुद्ध इँट्टा, आरसी, बौद्ध, एपोला, हिमाल र जैसवाल इटा उद्योगलाइ बालश्रम मुक्त उद्योगको रुपमा सम्मान गरीयो । उद्योगीलाइ सम्मान गर्दै उद्योग मन्त्री गिरीले इँट्टा उद्योगमा मात्रै नभइ अव हरेक उद्योगलाइ बालश्रम मुक्त बनाउनु पर्ने बताए । इटा उद्योगमा कार्यरत मजदुरहरूको आर्थिक अवस्था मजबुद्ध बनाउन सके बालश्रम अन्त्य हुँदै जाने पनि मन्त्री गिरीले बताए । प्रदेशलाइ नै बालश्रम मुक्त प्रदेश बनाउन प्रदेश सरकारले कानून बनाएर सबै क्षेत्रमा अभियानकै रुपमा अगाडी लैजानेपनि मन्त्री गिरीले बताए ।

प्रदेश सभाको अर्थ उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानले बालश्रम अन्त्य गर्न सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताए । प्रदेश सांसद पुष्पा थरूनीले फितलो कानुनका कारण अहिले पनि हरेक क्षेत्रमा बालश्रमको प्रयोग भइरहेको बताइन । कार्यक्रममा बिबिएनका अध्यक्ष डा. नारायण घिमिरे,दुर्गा अर्याल, शंकर पाण्डे, इँट्टा उद्योगी डम्बर शर्मा लगायतले बोल्दै स्थानीय सरकार तथा उद्योग व्यवसायीको सहयोग र समन्वयमा अन्य इटा उद्योगलाइ पनि बालश्रम मुक्त बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पत्रकारहरु, हरिश ढकाल, मनोज पौडेल,रेनुका गिरी र हरि अधिकारीलाई सम्मान गरिएको थियो ।

इँट्टा उद्योगलाइ बालश्रममुक्त बनाउने अभियानमा काम गर्दै आएको ‘नेपाल ग्लोबल फेयरनेश इनिसियटिभले नेपाल गुडविभ फाउण्डेशन र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र उद्योगी व्यवसायीको संयुक्त साझेदारीमा इँट्टा उद्योगलाई बालश्रमरहित उद्योग बनाउन सफल भएको कार्यक्रम संयोजक दुर्गा अर्यालले बताए । प्रदेश नं.५ को कपिलवस्तु, रुपन्देही र नवलपरासी कार्यक्षेत्र रहेको परियोजनाले अहिले १८ वटा इट्टा उद्योगमा काम गरीरहेको छ ।

त्यसमध्ये रुपन्देहीको सिद्धार्थ इँट्टा उद्योग, समृद्धि इँट्टा, एनएसएस इटा र सेभेन स्टार इँट्टा उद्योग बालश्रम मुक्त गर्ने अभियानको प्रमाणीकरणमा परीसकेका छन । प्रदेश नम्बर पाँचमा २ सय ५९ इँट्टा उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगमा सयौ बालश्रमिकहरूले काम गरिरहेको छन् ।

 
 
  
 

You may also like