रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिका–५, शीतलपाटीस्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर, दरबहवामा घटस्थापनाको दिनदेखि दुर्गा पूजा सुरु भएको छ। नवरात्रारम्भको अवसरमा शुद्धोदनका विभिन्न वडा तथा छिमेकी पालिकाबाट भक्तजनहरूको घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार प्रत्येक दिन साँझ सन्ध्याकालीन आरती र भजन–कीर्तन आयोजना हुने भएकाले सम्पूर्ण भक्तजनलाई सहभागी हुन निमन्त्रणा गरिएको छ। नेपाल सरकारको पुरातत्व विभागले सन् २०७५ फागुनमा गरेको अध्ययनअनुसार यो मन्दिर करिब १३ सय वर्षभन्दा पुरानो मानिएको छ। मन्दिर परिसरमा आज पनि असाधारण स्वरूपका दुईवटा कुवा र लुम्बिनीको शैलीसँग मिल्दाजुल्दा ईँटाबाट बनेका प्राचीन पर्खाल अवलोकन गर्न सकिन्छ।
प्रत्येक वर्ष कार्तिक पूर्णिमामा यहाँ एकहप्ते मेला लाग्ने चलन छ। यस मेलालाई सिद्धपीठ मानेर भक्तजनले मनोकामना पूर्ति हुने विश्वासका साथ दर्शन गर्ने गरेका छन्। भारतबाट समेत भक्तजनहरू यहाँ आउने गरेको समितिले जनाएको छ।
धर्मशाला भवन निर्माणका लागि २०७५ चैत ८ देखि १६ गतेसम्म मन्दिर परिसरमा श्रीमद् देवी भागवत नवाह महायज्ञ सम्पन्न गरिएको थियो। हाल उक्त धर्मशाला भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको अध्यक्ष बुढाथोकीले जानकारी दिए।